साउन २३ – अख्तियारले ड्रेस नलगाउने कर्मचारीलाई कार्यालयमै पस्न नदिनु भनेपछि कर्मचारीहरुको टाउको दुखाई बनेको छ ।
पोशाक भत्ता बुझेर पनि कर्मचारीहरु विनापोशाक कार्यालय आउने गरेपछि अख्तियारले ड्रेस नलगाउने कर्मचारीलाई कार्यालय भित्र पस्नै नदिन निर्देशन गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै सरकारी कर्मचारी र शिक्षकलाई तोकिएको पोशाक अनिवार्य लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएपछि भत्ता बुझेर पनि ड्रेस तयार नगरेका कर्मचारीहरु यतिबेला हस्याङ र फस्याङ गर्न थालेका छन् ।
सरकारबाट भत्ता लिएर पोशाक नलगाई कार्यालय प्रवेश गर्ने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेमात्रै नभएर महत्वपूर्ण जिम्मेवारीबाट समेत मुक्त गर्न अख्तियारले सरकारलाई निर्देशन दिएको छ ।
पोशाक भत्ता बुझेर पनि कर्मचारीहरु विनापोशाक कार्यालय आउने र बीचमै हराउन थालेपछि यस्तो व्यवस्था हुन लागेको हो ।
सरकारले गत वर्षदेखि कर्मचारी तथा शिक्षकलाई अनिवार्य पोशाक लागु गर्दै पोशाक भत्तावापत प्रतिव्यक्ति ७ हजार ५ सय रुपियाँ उपलब्ध गराउँदै आएको छ । तर यसको कार्यान्वयन नभएपछि अख्तियारले हिजो पुनः कडा निर्देशन दिएको हो ।
सरकारले कर्मचारीका लागि सेतो सर्ट, निलो पाइन्ट, कोट र कालो छालाका जुत्ता पोशाकका रूपमा तोकेको छ। त्यसबाहेक इच्छुक कर्मचारीले आफूले चाहेको रङको दौरा सुरुवाल लगाउन पनि सक्नेछन् । तर शुक्रबार भने पोशाक लगाउनुपर्ने बाध्यता छैन। सरकारले कर्मचारीलाई पोशाकका लागिमात्रै गत वर्ष झण्डै १० करोड रुपियाँ खर्चेको थियो ।