साउन २२ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरु संविधानसभामा मात्र सीमित नरहने र अन्तिम लक्ष्य नै जनवादी क्रान्ति भएकाले पूरा गरेरै छाड्ने बताएका छन् ।

आजको समस्या जनवाद मात्र नभएर राष्ट्रिय स्वाधीनताको रक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई छ ।

संयुक्त राष्ट्रिय जनसङ्घर्ष समितिले आज राजधानीमा आयोजना गरेको बृहत प्रवचन गोष्ठीमा अध्यक्ष वैद्यले यस्तो कुरा उल्लेख गर्दै पुराना दल र तीनको नेतृत्व परिर्वतनलाई संस्थागत गरी जनअपेक्षा अनुरुप काम गर्न पूर्णरुपमा असफल भइसकेकाले क्रान्तिकारी सरकार बन्नुपर्नेमा जोड दिए ।

मुलुकको अग्रगामी राजनीतिक निकासका लागि क्रान्तिकारी र देशभक्त शक्तिहरुको सरकार बन्नुपर्ने उनको भनाई छ ।

उनले अहिलेको अवस्थामा विघटित संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचन दुवै सम्भव नरहेको भन्दै अहिलेको संवैधानिक र राजनीतिक सङ्कटलाई निकास दिन सर्वदलीय र सर्वपक्षीय गोलमेचसभा गरी वर्तमान सरकारलाई विघटन गरेर अन्तरिम सहमतिको सरकार गठन गरिनुपर्ने एजेण्डा समेत प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दलहरुको सत्तामोहका कारण वैधानिक संविधानसभाको अवसान भएको र त्यसपछि मुलुकमा एकपछि अर्को राजनीतिक सङ्कट थपिंदै गएको बताए ।

नेकपा एमालेका सचिव युवराज ज्ञवालीले वर्तमान प्रधानमन्त्रीका कारण मुलुकको राष्ट्रियता गम्भीर सङ्कटमा परेकाले राजनीतिक दल र जनता सचेत हुनुपर्ने धारणा राखे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।