साउन २० – अज्ञात समूहले चलाएको गोलीबाट आज बिहान सप्तरीमा एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कोचाभखारी–७ निवासी रामप्रसाद साहका छोरा २० वर्षीय श्यामकुमार साह रहेका छन् । बिहान ९:३० बजे आफ्नो घरतर्फ गइरहेका बेला चार–पाँचजनाको समूहमा रहेका अज्ञात हतियारधारी समूहले इटहरी बिष्णपुर गाविस–३ स्थित नहर छेउमा साहलाई गोली हानेको स्थानीयवासीले बताएका छन् ।

ती समूहले साहको पेटमा हानेको गोली पिठ्युबाट निस्केको प्रहरीले जनाएको छ । घटनाको खबरलगत्तै प्रहरी निरीक्षक कुशबहादुर थापा नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

गम्भीर अवस्थामा साहलाई तत्कालै उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।