साउन १८ – हिजोदेखि सुरु भएको २०६८ सालको एसएलसी पूरक परीक्षाको दोस्रो दिन चार नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आज भएको अनिवार्य नेपाली विषयको परीक्षामा अर्काको सट्टामा लेख्न बसेका उनीहरूलाई जाजरकोटमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनप्रिय उच्च मावि दशेरा कक्षा १२ मा अध्ययनरत अमृता थापा, जनता उच्च मावि पैँक कक्षा १२ मा अध्ययनरत माधव शर्मा, इन्द्रज्योति मावि साल्मामा कक्षा १२ मा अध्ययनरत तुलबहादुर बुढा र भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा स्नातकतह दोस्रो वर्षमा अध्ययनरत निमबहादुर चलाउने छन् । उनीहरूले क्रमशः सिम्बोल नम्बर ०६४२३१२‘एच’ भएकी विमला थापा, सिनं ०६४०५४०‘डी’ का भीमबहादुर आरसी, सिनं १६४२५९४‘डी’ की सीता बुढा र सिनं ०६४०७४६‘बी’ का लालबहादुर चलाउनेको सट्टामा परीक्षा दिन लागेका थिए ।

परीक्षार्थी चलाउने पैसा कमाउनका लागि भारतमा रहेको र उनको नियमित परीक्षासमेत निमबहादुरले नै दिएको रहस्य खुलेको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारी यज्ञश्वर खत्रीले उनीहरूलाई कसुर बमोजिमको सजाय गरिने बताउनुभयो । बुधबारमात्र परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै जाजरकोटमा तीन निरीक्षकसहित दुईजना परिचरलाई निष्काशन गरिएको थियो ।

जिल्लाका विभित्र विद्यालयबाट यस वर्षको पूरक परीक्षामा विभित्र विषयका पाँच हजार ७६३ विद्यार्थीले फाराम भरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षा सदरमुकामस्थित त्रिभुवन उच्च मावि र भेरी ज्ञानोदय क्याम्पसमा गरी तीनवटा केन्द्रमा सञ्चालित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।