साउन १७ – पीडितले उजुरी गरेपछि बलात्कारको आरोपमा सप्तरी प्रहरीले बकधुवा गाविस–७ का ३० वर्षीय चलित्तर यादवलाई प्रक्राउ गरेको छ ।

पीडित बकधुवा गाविस–९ की ३५ वर्षीया महिलाले निजले आफूलाई बलात्कार गरेको भनी उजुरी दिएपछि प्रहरीले यादवलाई मङ्गलबार पक्राउ गरेको हो ।

जङ्गल छेउमा रहेको बकधुवा गाविस–७ स्थित ब्रह्मनारायणथान मन्दिर नजिकैको झाडीमा जबर्जस्ति समातेर ज्यान मार्ने धम्की दिई यादवले बलात्कार गरेको पीडितले बताएकी छिन् ।

बलात्कृत महिलाले आफू छिमेकी गाउँबाट फर्कंदै गर्दा घटना भएको बताएकी छिन् । पीडितको उजुरीका आधारमा यादवलाई तत्कालै पक्राउ गरी कानुनी कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जानकारी दिएको छ ।

पीडित र पीडक दुवैको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा स्वास्थ्य परीक्षण गराइएकोे छ ।

घटना सम्बन्धमा प्रारम्भिक छानबिन गर्दा यौन दुव्र्र्यबहार भएको प्रमाण फेला परेकाले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अघिल्लो वर्ष पनि छिमेकीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका यादव अदालतको आदेशमा रिहा भएका थिए । आफूलाई एमाओवादी कार्यकर्ता बताउने यादवले भने आफूले बलात्कार नगरेको बताएका छन् ।

उनले आफूलाई एमाओवादी कार्यकर्ता बताए पनि एमाओवादीका जिल्ला नेता भने यादवलाई कारबाही गरी पार्टीबाट निष्कासन गरिसकेको बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।