साउन १५ – निर्वाचन आयोगले सरकारककै कारण मंसिर ७ गते संविधानसभाको निर्वाचन हुन नसक्ने घोषणा गरेको छ ।

आयोगले कान्तिपथस्थित कार्यालयमा आज पत्रकार सम्मेलन गरेर संवैधानिक, कानुनी जटिलता र राजनीतिक दलहरुबीच सहमति नभएकाले मंसिर ७ गते निर्वाचन हुनै नसक्ने बताएको हो ।

आयोगले निर्वाचन सक्षम, सजग र तत्पर हुँदाहुँदै पनि सरकारले समयमा संविधान, कानुन चुस्त र दुरुस्त उपलब्ध गराउन नसकेकाले चुनाव हुन नसक्ने दाबी गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ड उप्रेतीले सञ्चारकर्मीहरु इतिहासमै दोस्रो पटक तोकिएको निर्वाचन सार्नु भएको खुसीको विषय नभएको भन्दै लोकतान्त्रिक पद्धतिको आधार भनेकै निर्वाचन भएको उल्लेख गरे ।

त्यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी गरिएको आयोगको विज्ञप्तिमा संवैधानिक तथा कानुनी व्यवस्था हुन नसकेको र दलहरुका बीच सहमति पनि भैनसकेको हुँदा आगामी मंसिर ७ गते हुने भनी नेपाल सरकारद्वारा घोषणा गरिएको अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न सम्भव नहुने व्यहारा जानकारी गराउँछौं भनि उल्लेख छ ।

यसअघि पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि दलहरु कानुनी, प्राविधिक र राजनीतिक आधारमा निर्वाचन गराउन तयार भईनसकेकाले मंसिर ७ गते निर्वाचन हुनै नसक्ने बताउँदै आएका थिए ।

यसैबीच, अब आयोगले मंसिरमा चुनाव नहुने घोषणा गरेसँगै आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पनि निस्क्रिय बन्न पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।