काठमाडाैं ३१ साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ काठमाडौं आइपुगेका छन्। चिनियाँ स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ टोली सोमबार साँझ काठमाडौं आइपुगेको हो।
पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसमा सहभागी भएर चिनियाँ उच्च अधिकारी अपराह्न काठमाडौं आइपुगेका हुन्। टोलीमा वाङका सुरक्षागार्ड, सचिव, निजी चिकित्सकसहित २१ जना छन्। काठमाडौंबाट चिनियाँ राजदूत यु होङ तथा दूतावासका उच्च अधिकारी पनि प्रतिनिधिमण्डलमा सामेल छन्। यो खबर पर्शुराम काफ्लेले आजको नयाँ पत्रिकामा लेखेका छन्।
चिनियाँ उपप्रधानमन्त्री वाङ टोलीमा स्टेट काउन्सिलका उपमहासचिव जियाङ जेलिन, नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी प्रतिनिधि यु जिआनहुवा छन्। यसैगरी, स्टेट काउन्सिलको रिसर्च अफिसका सहायकमन्त्री गुओ वेइर्, स्टेट काउन्सिलको जनरल अफिसका सेकेन्ड सेक्रेटेरियाटका आयुक्त सु चाङ, विदेश मन्त्रालयका सहायकमन्त्री कोङ सुआन्यु, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका महानिर्देशक वाङ जिनगुई, उपप्रधानमन्त्री वाङका सचिव लि सियाङचुन, विदेश मन्त्रालयको एसियन मामिला विभागका उपमहानिर्देशक होउ याङकी, विदेश मन्त्रालयको सूचना विभागका उपमहानिर्देशक वाङ सिनिङ, विदेश मन्त्रालयको प्रोटोकल विभागका काउन्सिलरमा जुन, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका उपकाउन्सिलर बाओ सिहोङ पनि आएका छन्।
चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागका उपनिर्देशक सेन सिउसिया, विदेश मन्त्रालयको प्रोटोकल विभागका उपनिर्देशक सियान यी, विदेश मन्त्रबालयको अनुवादसम्बन्धी विभागका उपनिर्देशक जुआन यी, विदेश मन्त्रालयको प्रोटोकल विभागका तृतीय सचिव ऊ मिङ, स्टेट काउन्सिलअन्तर्गत द्वितीय सचिवालयका सदस्य स्टाफ झाङ बिन, सेन्ट्रल सेक्युरिटी ब्युरोका डाइरेक्टर वाङ डायु, उपप्रधानमन्त्री वाङका निजी चिकित्सक झाङ हाइफेङ तथा उपप्रधानमन्त्री वाङका सुरक्षा अधिकृत युआन डासी पनि टोलीमा छन्।
के के छन् वाङका कार्यक्रम ?
उपप्रधानमन्त्री वाङ र नेपाली समकक्षी गच्छदार नेतृत्वको दुईपक्षीय प्रतिनिधिमण्डलबीच मंगलबार दिवाभोजसहित औपचारिक वार्ता हुनेछ। परराष्ट्र स्रोतका अनुसार औपचारिक वार्ता ११ बजेदेखि सुरु हुनेछ भने १ बजे दिवाभोज आयोजना गरिएको छ। मंगलबार अपराह्न वाङलाई भेट्न एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड होटेल सोल्टी जानेछन्।
वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रमशः शीतलनिवास र बालुवाटारमा बुधबार अपराह्न भेटवार्ता गर्नेछन् भने बाँकी सबै भेटवार्ता उनी बसेकै होटेल सोल्टीमा हुनेछ। परराष्ट्र स्रोतका अनुसार वाङले बुधबार बिहान कीर्तिपुरमा राष्ट्रिय आयुर्वेद अनुसन्धान एवं तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ। वाङले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग पनि छलफल गर्नेछन्। वाङ नेतृत्वको टोली विशेष बिमानबाट बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।