काठमाडौं ३१ साउन 

नेकपा माओवादी केन्द्रका सबै सांसदले एक महिनाको तलव बाढी पीडितहरुलाई दिने निर्णय गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बोर्ड बैठकले सबै सांसदहरुको एक महिनाको तलब बाढी पीडितहरुका लागि दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।
सांसद रामनारायण बिडारीका अनुसार बैठकले सम्पूर्ण सांसदहरुलाई आ–आफ्नो क्षेत्रमा गएर राहत तथा उद्धारका लागि खट्ने निर्णय समेत गरेको छ । उद्धार तथा राहतका लागि सांसदहरु आजदेखि नै आफ्नो क्षेत्रमा जाने प्रमुख सचेतक शर्माले बताइन् ।
बैठकले बाढी पीडितहरुका लागि सरकारले राहत तथा उद्धारमा तदारुकता नदेखाएको भन्दै  सरकारलाई झक्झक्याउने निर्णय समेत गरेको छ । 
बैठकले निर्वाचन लगायत सबै विधेयक छिटो पारित गराउन विशेष भूमिका निर्वाह गर्ने निर्णय समेत भएको सांसद बिडारीले जानकारी दिए । 
बैठकमा बोल्दै अध्यक्ष दाहालले कानुन बनाउन ढिला भए चुनाव अड्किन सक्ने र संविधान कार्यान्वयनका पक्ष समेत पछि पर्ने भन्दै कानुन निर्माणको काम चाँडो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
‘कानुन बनाउने काम छिटो हुनुपर्दछ, तर कानुन बनाउँदा अधिकार भने तल्लो तलमा पुर्याउनै पर्दछ, संसदीय दलका दलका नेता समेत रहेका दाहालले भने ।
बैठकमा संविधान संशोधनको प्रक्रिया चाँडै अघि बढाउने विषयमा समेत छलफल भएको थियो । अध्यक्ष दाहालले विभाजित दुवै राप्रपाले संशोधनको पक्षमा भोटिङ गरे पारित हुने अवस्था रहेपनि एक समूहले अझै पनि पक्षमा भोट हाल्ने निर्णय गरि नसकेको बताएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।