साउन  ९  – नुनमा बालुवा मिसिएको पुष्टि भएपछि पश्चिम क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, रुपन्दहीले साल्ट ट्रेडिङ कर्पोरेसनविरुद्ध मुद्दा चलाउने भएको छ ।

 केही समयअघि नुनको प्याकेटभित्रै बालुवा मिसिएको खबर विभिन्न सञ्चारमध्यममा प्रकाशन तथा प्रसारण भएपछि सो कार्यालयले नुनको नमुना सङ्कलन गरी परीक्षण गर्दा बालुवा मिसिएको तथ्य पुष्टि भएको हो ।

    खाद्य तथा गुण नियन्त्रण कार्यालयको ‘रिपोर्ट’मा नुनमा अखाद्य वस्तु मिसिएको प्रमाणित भएको उल्लेख गरिएको छ । सोमबार खाद्यको प्रयोगशालाले सो पुष्टि गरेको कार्यालय प्रमुख किशोर खत्रीले बताउनुभयो । उउनले भने–“नुनमा बालुवा मिसिएको पुष्टि भएको छ । यसबारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसक्याँै । अब हामी खाद्य ऐनअनुसार साल्ट ट्रेडिङ कर्पोरेसन, भैरहवाविरुद्ध मुद्दा चलाउँछौँ ।”

   पछिल्लो समयमा भैरहवा, बुटवल र बर्दघाटमा नुनमा बालुवा मिसिएको समाचार सार्वजनिक भएको थियो । प्रयोगशालाको रिपोर्ट झन्डै एक महिनापछि आएको हो । रिपोर्टमा नुनमा हुनुपर्ने अन्य तत्वहरु ठीक भए पनि अघुलनशील पदार्थ पनि भेटिएको प्रमुख खत्रीले बताए ।

   भारतबाट ल्याइएको इन्डो ब्रान्डको  झन्डै ५० हजार बोरामा नुनमा बालुवा  मिसिएको आशङ्का गरिँदै आएको थियो । भारतबाट ५० केजीको बोरामा आउने सो नुनलाई नेपाल साल्ट ट्रेडिङ लिमिटेडले आयो नुनको खोल भएको एक किलोको प्याकेटमा पुनः प्याकिङ गरी बिक्री वितरण गर्दै आएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।