साउन १ – हिजो नवलपरासीमा कम्तिमा पनि ३९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना सेलाउन नपाउँदै आज धादिङको कृष्णभीरबाट एउटा बस नदीमा खसेको छ ।

आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङ धुषा गाविस–१ कृष्णभिरबाट एक यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा मर्नेको संख्या ११ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप दुई जनाको शव भेटिएको हो ।

यसअघि ६ जनाको घट्नास्थलमै तथा ३ जनाको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार सुरु गर्दा गर्दै निधन भएको प्रहरीले जनकारी दिएको थियो । १८ जनाको उद्धार गरी अस्पताल पठाई सकिएको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको यात्रु वाहक बस सडकबाट त्रिशूलीमा खसेको हो ।

सिट क्षमता भन्दा बढी ५७ यात्रु बोकेर अत्यधिक गतिमा गुडेको गाडी सिमसिम पानी परिरहेका बेला ‘ब्रेक फेल’ भएर सडकबाट त्रिशूलीमा खसेको बताइएको छ ।

बेपत्ताको खोजी भइरहेको भए पनि नदीमा पानीको मात्रा बढी भएकाले कठिनाइ भएको उद्दारमा खटिएको प्रहरी टोलिले बताएको छ । त्यहाँ अहिले स्थानीयवासीका साथै प्रहरीको टोलिले बेपत्ताको खोजी गरिरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।