प्रकाश दाहाल र अखिल क्रान्तिकारीकी नेतृ विना मगरको सम्बन्ध अहिले चर्चामा छ । तर, माओवादीभित्र यस्तो समस्या पहिलोपटक आएको होइन ।
माओवादी अध्यक्ष प्रचण्डका छोरा भएकाले अहिले ठूलो प्रचार भएको छ । तर, माओवादी मूलधारको राजनीतिमा आएपछि मात्र होइन, गणतन्त्रका लागि बलिदानीपूर्ण आन्दोलन गरिरहेको वेला पनि माओवादीमा यौनकाण्ड भएका थिए । अहिले राज्य समितिस्तरका नेता प्रकाश कारबाहीमा परेका छन्, तर यसअघि केन्द्रीय नेतृत्व तहकै नेता यस्तै काण्डमा मुछिएका थिए ।
प्रकाश माओवादीको राज्य समितिका सदस्य हुन् । राज्य समितिका सदस्यलाई पोलिटब्युरोले कारबाही गरेको भने यो पहिलोपटक हो । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै प्रस्तावमा छोरा प्रकाशमाथि कारबाही गराएका हुन् ।
जनयुद्धकाल सुरुवातदेखि शान्तिप्रक्रियाको चार वर्षसम्म आउँदा माओवादीभित्र दर्जनौँ ‘सांस्कृतिक विचलन’ -यौनकाण्ड)का विवाद देखा परे । एकपछि अर्को गरी आउने यस्ता विवादमध्ये कतिपय पुष्टि भए भने केही भने आरोपमै मात्र सीमित भए ।
पार्टीभित्र मात्र होइन यस्ता प्रकरण वेलावेलामा सेना र भ्रातृसंगठनभित्र पनि देखा पर्ने गरेका छन् । यस्ता आरोप पुष्टि हुँदा माओवादीले त्यस्ता पात्रमाथि कारबाही गर्दै आएको छ ।
सशस्त्र जनयुद्धको अन्त्य गरेर शान्तिप्रक्रियापछि पनि माओवादीभित्र यौन विचलनका घटना बाहिर आइरहे । पार्टीका केन्द्रीय तहका नेतादेखि सभासद्समेत मात्र होइन तल्लो तहमा पनि यस्ता प्रकरणबाट कैयौँ माओवादी कार्यकर्ता गम्भीर विवादमा तानिए ।
युद्धकालमा जस्तै यौन विचलनलाई ‘अपराध’ नै ठान्छ माओवादी । तर, पनि यो अपराधलाई लुकाएर गर्न रुचाउने देखिँदै आएका छन् माओवादीभित्र ।
चर्चित दर्जन काण्ड
विवाद १
जनयुद्धका सुरुका दिन (०५२ फागुन १) देखि अहिलेसम्म आउँदा अन्तरपार्टी कारबाहीका दर्जनौँ घटना बाहिर आए माओवादीभित्र । पहिलो र ठूलो घटना थियो, सांस्कृतिक विचलनसम्बन्धी । आरोपित पात्र सामान्य थिएनन् । उनीहरू पार्टीका कार्यकर्ता मात्र नभई उच्च तहका नेता थिए । जनयुद्धकै योजनाकारमध्येका नेता रामबहादुर थापा बादल र पम्फा भुसाल हिमानीबीचको अनुचित यौनसम्बन्धले उनीहरू दुवैलाई कारबाहीको अवस्थामा पुर्यायो ।
माओवादीले बादल र हिमानीबीच भएको कारबाही प्रकरणलाई पार्टी दस्ताबेजमा नै उतारेको छ । दस्ताबेजमा भनिएको छ, “२०५३ असारदेखि फागुनसम्म आइपुग्दा करिब नौ महिनाको अवधिमा कमरेड बादल र कमरेड हिमानीबीच सम्बन्ध आश्चर्यजनक तीव्रतासाथ पे्रम र यौनसम्बन्ध एक सीमासम्म पार्टी नेतृत्वविरोधी गठजोड, स्वेच्छिक सम्बन्ध-विच्छेद’ र अन्त्यमा एकअर्काप्रति तीव्र आक्रोश र घृणामा परिणत भयो । पार्टी पोलिटब्युरोको जिम्मेवार सदस्य कमरेड बादल र कमरेड हिमानीबीचको यसप्रकारको घटनाक्रमले स्वाभाविक रूपमा त्यसमा अन्तरनिहित सैद्धान्तिक र नैतिक अवधारणाबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकताबाट उत्पन्न हुन गएको छ ।’
विवाद २
जनयुद्ध थालिएको अर्को वर्षमै अर्का केन्द्रीय नेता हरिबोल गजुरेल अर्थात् कमरेड शीतलकुमार पनि सांस्कृतिक विचलन गरेकै विषयमा कारबाहीमा परे । अनैतिक यौनसम्बन्ध राखेको अभियोग लाग्यो उनीमाथि । शीतलकुमार हाल माओवादी सभासद् बनेकी नीरकुमारी दर्लामीसँग यौनसम्बन्ध राखेको अभियोगमा मुछिएका थिए । नीरकुमारीका पति शेरमान कुँवरलाई ०६१ मा सेनाले हत्या गर्यो, पछि उनीसँग शीतलकुमार सांस्कृतिक विचलनको आरोपमा कारबाही परे ।
विवाद ३
युद्धकालमै यानप्रसाद गौतम आलोक यौनकाण्डामा मुछिए । जनयुद्धका दौरानमा माओवादीभित्र खुबै चर्चा भयो आलोक प्रवृत्ति । पार्टीका जिम्मेवार नेता थिए, आलोक । तत्कालीन अवस्थामा पार्टी पोलिटब्युरो सदस्य रहेका आलोक पार्टीका सैद्धान्तिक पक्षको विषयमा विवादमा परे । त्यसबाहेक उनीमाथि गम्भीर सांस्कृतिक विचलनको समस्या देखिएको माओवादीले पुष्टि गर्यो । काभ्रे स्थायी घर भएका आलोक त्यतिवेला पूर्वाञ्चल प्रमुख थिए ।
माओवादी केन्द्रीय कार्यालयले ०५६ को फागुनमा आलोकलाई अनुशासनको कारबाही गर्यो । तत्कालीन काभ्रे-रामेछाप सेक्रेटरी रुकु चौलागाईं अर्थात् कमरेड रचनासँग अनुचित यौनसम्बन्धमा लिप्त भएको आरोप थियो आलेकमाथि । पछि पुष्टि भयो । उनीहरू कारबाहीमा परे । पार्टीबाट निष्कासन नै भए । माओवादीले उनलाई कारबाही गरेपछि श्रमशिविरमा पठायो । पछि आलोक श्रमकैदमै मारिए । उनी दोहोरो भिडन्तमा मारिएको माओवादी दाबी छ ।
पार्टीबाट कब्जा गरिएका पैसाले काठमाडांैमा घर बनाउने, छापामारलाई सेन्ट्रीमा राखेर सेल्टरभित्रै महिला नेतासँग यौन क्रियाकलापमा लागेेको, सर्वहारा संस्कृतिलाई तिलाञ्जलि दिँदै मीठो खाना र राम्रो पहिरन लगाउनु र उच्च एवं विलासिताको जीवन बिताएर पार्टीभित्र नवसामन्तको अवतारका रूपमा उदाएको आरोप उनीमाथि थियो ।
विवाद ४
आलोक कारबाहीमा परेको आसपासमै माओवादीका अर्का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’समेत यौनकाण्डमा तानिए । पार्टीले उनीहरूमाथि सांस्कृतिक विचलनकै प्रकरणमा कारबाहीसमेत चलायो । कारबाहीलगत्तै पक्राउ परे सुदर्शन । उनी ०५५ मा पक्राउ परी जेल परेपछि विवाद सेलायो ।
विवाद ५
कात्तिक, ०५७ मा माओवादी एक नेता फेरि घेरामा परे । तत्कालीन विद्यार्थी संगठनका अध्यक्ष कृष्णध्वज खड्कामाथि एकजना महिलाले आरोप लगाइन् । ती महिला पनि विद्यार्थी नै थिइन् । यस प्रकरणमा मुछिएका खड्कालाई माओवादीले ६ महिनाका लागि पार्टीबाट निष्कासन गर्यो ।
विवाद ६
अर्को विवादमा तानिए केन्द्रीय नेता शक्तिबहादुर बस्नेत सुरेशसिंह । उनी एकजना पार्टीकै महिला कमरेडलाई गलत नजरले हेरेको अभियोगमा विवादमा तानिएका थिए । उनी त्यतिवेला भेरी-कणर्ाली राज्य समितिका इन्चार्ज थिए, जतिवेला एकजना महिला नेतृसँग उनी जोडिए । माओवादीले उतिवेला उनीमाथि छानबिन गर्यो । केही समयका लागि उनी केन्द्रीय समितिबाट निलम्बनमा परे ।
विवाद ७
०६२ चैततिर माओवादीका अर्का केन्द्रीय सदस्य प्रकरणमा तानिए । ती थिए हिमाल राई । उनीमाथि पनि सांस्कृतिक विचलनको आरोप थियो । अन्ततः उनी एक वर्षका लागि निलम्बित भए । जनसेनाको केही छापामार पनि यस्ता प्रकरणमा फसेको जनसेनाका सदस्यहरू बताउँछन् ।
विवाद ८
माओवादी शान्तिप्रक्रियामा आएपछि पनि यौनकाण्ड चर्चामा आइरहे । ०६६ असार/साउनमा माओवादी पोलिटब्युरोे सदस्य राम कार्की र सभासद् सुशीला कन्दङ्वासँग जोडिएर अर्को विषय उठ्यो । कन्दङ्वासँगै बस्ने माओवादीकै अन्य सभासद्ले उनीहरूबीच यौनसम्बन्ध रहेको आरोप लगाउँदै पार्टीभित्र यसको छानबिन गर्न नै माग गरे । दुईपटक छानबिन भयो तर आरोप पुष्टि भएन यस विषयको । तर, यो प्रकरणले माओवादीको लिम्बुवान राज्य समितिमा खैलाबैला नै मच्चायो । तर, विवाद मिलाउने जिम्मा पाएका थिए माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा ‘बादल’ जो यस्तै काण्डमा विगतमा कारबाहीमा परेका थिए । उनले विवाद मिलाउन सकेनन्, पछि विवाद साम्य भयो ।
विवाद ९
माओवादी नेता राम कार्कीसँगको सम्बन्धले सभासद् कन्दङ्वा छानबिनको घेरामा रहँदा माओवादीकी सभासद् लीला सोमई पनि कारबाहीमा परिन् । सभासद् सोमई पाल्पा क्षेत्र नम्बर २ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट विजय भएकी थिइन् । माओवादी पाल्पा क्षेत्र नम्बर-२ कै इन्चार्ज तिलक मल्लसँग ‘अनुचित यौनसम्बन्ध’ रहेको भन्दै समाचार प्रकाशमा आएको थियो । दुवैलाई माओवादी मगरात राज्य समितिले सांगठनिक कारबाही गर्यो । सोमईका पति तीर्थ युद्धकाल -०५९) मा सेनाद्वारा मारिएका थिए ।
विवाद १०
नवलपरासीबाट प्रत्यक्ष निर्वाचनबाट आएकी माओवादी सभासद् सीता बौडेल यस्तो विवादमा तानिएका थिइन् । माओवादी सूत्रका अनुसार माओवादीको अबध राज्य समितिले उनीमाथि कारबाही नै गरेको थियो ।
विवाद ११
एकपछि अर्को प्रकरण देखिएकै वेला ०६६ तिर नै कपिलवस्तुबाट समानुपातिक तर्फबाट सभासद् बनेकी इन्दावती यादव यौन प्रकरणमा मुछिइन् । औपचारिक रूपमा बाहिर नआए पनि उनीहरू दुवै कारबाहीमा परेको माओवादी वृत्तमा चर्चा भइरहन्छ । माओवादीको अबध राज्य समितिले उनीहरूमाथि कारबाही चलाएको थियो ।
विवाद १२
एकपछि अर्को सभासद्माथि आरोप लागिरहेका वेला माओवादीका अर्का सभासद् गुणाखर बस्याल पनि विवादमा तानिए । उनलाई काठमाडौंमा लज सञ्चालन गरेकी एक महिलासँग अनुचित सम्बन्ध राखेको आरोप लागेको थियो – साभार
|