२९ असार । छोराले मात्र आफ्ना बाबुआमाको काजकिरिया गर्ने परम्परागत मान्यतालाई तोड्दै जाजरकोट पुन्मा–३ की पम्फा घर्ती बाबुको किरिया बसेकी छन् ।

चौहत्तर वर्षीय बाबु बिस्ने घर्तीको निधन भएपछि उनकी साइँली छोरी १६ वर्षीया पम्फा किरिया बसेकी हुन् । मर्नुभन्दा पहिले बाबुले आफूलाई नै किरिया गर्नु भनेको र दाजुभाइ नभएका कारण आफू किरिया बसेको पम्फाको भनाइ छ ।

पम्फासँगै उनका काका दलबहादुर घर्ती पनि किरिया बसेका छन् । मदिरा सेवनका कारण गएको चैतेदसैँमा घरको ढोकाबाट लडेर घाइते भएका बिस्नेको गरिबीका कारण उपचार हुन नसकेपछि यही २६ गते निधन भएको थियो ।

पाँचजना दिदीबहिनी भएकी पम्फाकी दुई वटै दिदी र एउटा बहिनीले बिहे गरिसकेका छन् भने कान्छी बहिनी सुकेनास पीडित रहेको थाहाभएको छ ।

छोरी किरिया बसेकामा गाउँलेले मिश्रित प्रतिक्रिया दिएका छन् । स्थानीय ८४ वर्षीय विजय पुनले छोरी किरिया बसेको देख्दा आफू अचम्मित भएको बताउनुभयो । जिल्लामा छोरी किरिया बसेको आफूले पहिलोपटक थाहापाएको पुनको भनाइ छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।