असार २९ – हिमालयन टेलिभिजन जुम्लाका संवाददाता अर्जुन आचार्यको यही असार २७ गते उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादका कारण अञ्चल अस्पताल जुम्ला तीन दिनदेखि बन्द रहेको छ ।

मृतकका आफन्त र अस्पतालका चिकित्सकहरुबीचको झडपपछि चिकित्सक तथा कर्मचारीहरुले जीउज्यानको सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेका छन् ।

अस्पतालका चिकित्सक डा. जीवन परियारले बिहीबार एक विज्ञप्ति जारी गरी केही सञ्चार माध्यमले पूर्वाग्रही ढङ्गबाट समाचार सम्प्रेषण गरी आफ्नो चरित्रहत्या गरेको भन्दै आफ्नो जीउज्यानको सुरक्षा नभएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाए ।

यता, पीडितपक्षले भने मृतककी पत्नी र छोरीको जीवन सुनिश्चित गर्न रोजगार तथा बच्चीको शिक्षाको प्रत्याभूतिका साथै उचित क्षतिपूर्तिका लागि लिखितपत्र दिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मालाई दबाब दिएको छ ।

आइतबारसम्म आफूहरुले यसको सकारात्मक जवाफ नपाए कडा आन्दोलन गर्ने पीडितपक्षले चुनौती दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।