असार २८ – एकीकृत नेकपा माओवादी दुई टुक्रा भएपछि उत्पन्न पार्टी कार्यालय विवाद समाधान गर्न कार्यदल गठन गरेको छ ।
एमाओवादी र नेकपा–माओवादीले पार्टी कार्यालयहरू, भौतिक संरचनाहरूको विवाद अन्त्य गर्नका लागि बुधबार कार्यदल गठन गरेको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यबीच भएको भेटवार्तामा समसामयिक विषयमा छलफल गर्नुका साथै पार्टी एकता र पार्टी कार्यालय विवादका विषयमा चार सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।
कार्यदलमा एमाओवादीका तर्फबाट स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्नि सापकोटा र माओवादीका तर्फबाट सचिव देव गुरुङ र पोलिटब्युरो सदस्य हितमान शाक्य रहेका छन् ।
कार्यदलमा रहनुभएका एमाओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले आफूहरूको कार्यदलले भोलिदेखि नै काम सुरु गर्ने जानकारी दिए ।
चितवनलगायतका जिल्लामा पार्टी कार्यालय कसको हुने भन्ने विषयमा एमाओवादी र माओवादी कार्यकर्ताबीच झडप भएपछि सो विषयमा कार्यदल बनाएर सहमति खोज्ने प्रयासमा दुवै माओवादी लागेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषय, पार्टी एकता, बजेट र संविधानसभा पुनःस्थापनालगायतका विषयमा छलफल भएको थियो ।
|