२४ असार । राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच बजेट तथा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको छ ।

राष्ट्रपति शीतलनिवासमा आज बिहान भएको सो भेटवार्तामा बजेटमा केन्द्रित भएर छलफल भएको थियो ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि उहाँहरुबीच कुराकानी भएको अध्यक्ष दाहालले पत्रकारलाई बताए ।

“अघिल्लो र आजको भेटमा पनि बजेटमा केन्द्रित भएर छलफल भयो, राजनीतिक दलकै बीचमा सहमति गरेर बजेट ल्याउन मेरो कोसिस रहन्छ,” अध्यक्ष दाहालले राष्ट्रपतिसँग भएको छलफलबारे जानकारी दिए । अध्यक्ष दाहालले अहिले नै कस्तो बजेट आउँछ भन्ने भन्दा पनि सहमतिमै बजेट आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा सहमतिका लागि दलबीच भइरहेको प्रयासका बारेमा राष्ट्रपति डा यादवले अध्यक्ष दाहालसँग जिज्ञासा राखेका थिए ।

“दलहरुबीच सहमति भइसकेको छैन तर काँग्रेस, एमाले, मधेसी मोर्चासँग भइरहेको छलफल सहमतितर्फ उन्मुख रहेकाले मैले छलफल नकारात्मक नभएको बताएँ”– अध्यक्ष दाहालले भने ।

 विपक्षी दलले निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउँदै पूर्ण बजेटको विरोध गर्दै आएका छन् ।

अध्यादेश बजेटका बारेमा खासगरी काँग्रेस, एमालेलगायतका विपक्षी दलले विरोध जनाएपछि राष्ट्रपतिले विभिन्न दलका नेता एवम् विज्ञसँगको भेटघाट एवम् छलफललाई निरन्तरता दिँदै आएका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।