असार २१ – नवगठित नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले विस्तारवाद र तीनका दलालहरु जनताका मुख्य दुस्मन भएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित क्रान्तिकारी पत्रकार संघको राष्ट्रिय भेलालाई उदघाटन गर्दै उनले त्यस्ता दलालहरुलाई एक्लाउन आवश्यक रहेको र जनताबाट एक्लिदै पनि गएको उल्लेख गरे ।
सर्वहराको आन्दोलन सफल हुने ठोकुवा गर्दै महासचिव थापाले सर्वहराको आन्दोलन सफल पार्न सबै यथास्थितिवाद र तीनका दलालसँग सम्बन्ध विच्छेद गर्नुपर्ने बताए ।
उनले कार्यक्रममा पत्रकारलाई मैन बत्तिको संज्ञा पनि दिएका थिए । भेलाको उदघाटन गर्न अगाडी बालिएको मैन बत्ति देखाउँदै महासचिव थापाले भने – पत्रकार यस्तै मैनबत्ति जस्तै हुन् । उनीहरु अरुलाई उज्यालो दिन्छन् तर आफूहरु भने जलिरन्छन् । त्यही उज्यालोमा अरु भने नाच्छन् ।कार्यक्रममा उनले समाजमा हुने ३ खाले प्रवृति क्रान्तिकारी धार, सुधारवादी धार र यथास्थितिवादी धारको उदाहरण दिँदै सुधारवादले आंशिक परिवर्तन चाहने भएपनि सबैलाई समेट्न नसक्ने र यथास्थितिवाद कहिल्यै परिवर्तन नचाहने भएकाले अहिले आमूल परिवर्तनको खाँचो रहेकाले क्रान्तिकारी धारमा हिढ्न आवश्यक रहेको बताएका थिए ।
|