सेमिफाइनलमा जर्मनीलाई हराउँदै फाइनलमा पुगेको इटाली र पोर्चुगललाई हराउँदै फाइनलको यात्रा तय गरेको स्पेनबीच आज घम्साघम्सी हुँदैछ ।

फाइनल अघि आ–आफ्नो टिमलाई जिताउन हौसाउनु स्वभाविक हो । तर सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा भने नेपाली फुटबल प्रेमीमा शितयुद्ध नै चलेको छ ।
कोही इटालीले बाजी मार्छ भनेर स्पेन गेट आउट भनिरहेका छन् भने कोही इटालीले कहाँ जित्नु नि स्पेनले लान्छ युरोकप त भन्दै आफ्नो फेसबुक वालमा स्टाटस अपडेट गरिरहेका छन् ।
त्यसरी वालमा लेखिएको स्टाटसमा आ–आफ्नो समुहले जित्ने दाबी गर्दै कमेन्ट र लाइक गर्ने फेसबुक प्रेमीहरुको संख्या पनि कम भने छैन ।
अझै रोचक कुरो त के छ भने सानै देखि फुटबलमा रुचि भएको बताउने तर राजनीतिमा एउटा स्थान जमाईसकेका कांग्रेस युवा नेता गगन थापाको पनि चर्चा कम छैन ।
गगन थापाले आजको समाचार दैनिकमा इटालीले जित्छ युरो कप भनेछन् भने उनैले नयाँ पत्रिकामा चाँही स्पेनले जित्छ युरो कप भनेछन् । यो विषयलाई लिएर पनि आज निक्कै नेपाली फेसबुक प्रयोगकर्ताहरुले तर्क वितर्क गरेका छन् ।
फेसबुक वालमा आ–आफ्नो मन परेको टिमलाई समर्थन गर्दै एक अर्कामा आफ्नै मन परेको टिमले जित्छ भनेर फेसबुक शित युद्ध नै चर्के पछि पत्रकार सुशिल पन्तले भने लेखेका छन्- ‘अन्यथा नलिनु होला, युरोपमा रहेका मेरा मित्र नबिन अर्यालका अनुसार यहाँ (फेसवुक) मा जस्तो त्यहाँ इटाली र स्पेनका समर्थकबीच शितयुद्ध छैन, अति समर्थन र अति विरोध नेपाली मौलिकता !
जे होस् यसरी युरोकपको जति चर्चा हुन्छ । अनि यसले जसरी विश्वका खेलप्रेमीहरुको ध्यान तान्न सफल भएको छ अब नेपाली खेलाडीहरुको गुणस्तर पनि सुधारेर एसिया कप हुँदा अरु राष्ट्रहरुको पनि ध्यान यतातिर तान्ने कि भन्ने प्रश्नले भने सबैलाई गिज्याई नै रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।