
‘एक बाम अठार ठाम’ भन्ने भनाई नेपाली कम्युनिष्ट पार्टीका लागि यथार्थ बन्दै छ । केही हप्ता अघि एकीकृत माओवादी फुटेको थियो भने आजबाट मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी फुटेको हो ।
मातृकाका यादवले नेतृत्व गरेको माओवादीका २८ जिल्ला सेक्रेटरीले नयाँ पार्टी गठन गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अशोक लामाको नेतृत्वमा नयाँ संयुक्त क्रान्तिकारी मोर्चा गठन भएको जानकारी दिइएको छ ।
नयाँ मोर्चाले पार्टी अध्यक्ष यादव एकाधिकारवादी, मनोगत र गोलचक्करवादी चिन्तन बोक्ने व्यक्ति भएकाले उनको नेतृत्वबाट अलग भएको बताएका हुन ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नव गठित मोर्चाका संयोजक अशोक लामाले भने -‘अहिलेको परिस्थितिमा मालेमावादी सिद्धान्तको रक्षा गर्दै दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि बृहत क्रान्तिकारी मोर्चाको आवश्यक भएको महशुस गर्दै हामीले नेकपा माओवादीसँग सम्बन्ध विच्छेद गरी नयाँ मोर्चा गठन गरेका हौँ ।’
नयाँ मोर्चाले २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध चुनवाङ बैठक हुँदै १२ बुँदे दिल्ली सम्झौतासम्म आईपुग्दा पार्टीको अस्तित्व समाप्त पर्ने काम यादवले गरेको भन्दै नयाँ मोर्चा खोल्नु परेको बताएको छ ।
|