काठमाडौं ४ असोज । राज्यलाई २ अर्ब ५३ करोड बिजुलीको बिल नतिरेका विवादित व्यापारिक घरानाका साहिल अग्रवाललाई सरकारले सजाय दिनुको सट्टा उल्टो पदक दिएको छ ।
सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभुषण तथा मान पदवी दिएकोमा अग्रवाललाई पनि पदक दिएको हो । साहिलका भाई सुलभ अग्रवाल कोरोना महामारीको समयमा थर्मल गन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए ।
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुअघि सर्वसाधरणलाई १८ घण्टासम्म अन्धकारमा राखेर केही माफिया तथा व्यावसायीलाई भने २४ घण्टा नै विद्युत सुविधा उपलब्ध गराइएको थियो ।
त्यसरी विद्युत उपभोग गर्ने व्यापारीले सरकारलाई डेडिकेटेड तथा ट्रंक लाइन सुविधा मार्फत अतिरिक्त शुल्क बुझाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । तीनै व्यापारीहरु मध्येका प्रमुख घरानाका मालिक साहिल अग्रवाल पनि एक हुन् । उनी शंकर समुहको प्रबन्ध निर्देशक हुन भने उनको कम्पनि जगदम्बा स्टिलले नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ५३ करोड १४ लाख ३२ हजार ८ सय ५८ रुपैयाँ बुझाउन बाँकी रहेको पाइएको छ । उर्जामन्त्री पम्फा भुसालले यसअघि नै बाँकी बस्यौता उठाउन निर्देशन दिइसकेकी छिन् ।








