काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट विभाजन भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल भएको छ ।
दुई पार्टीबीचको सहमति अनुसार रुकुम पश्चिममा उम्मेदवार बनेका जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाबाटै उम्मेदवार बनेका सन्दीप पुनलाई एमालेले सघाउनेछ ।
एमाले र प्रलोपाको सहमति रुकुम पूर्व पुगेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने र राजनीतिक दबाब थप्ने उद्देश्य देखिन्छ । एमालेको सहयोगले जनार्दनलाई विजयी बनाउन ठूलै सहयोग गरेपनि प्रचण्डलाई हराउन भने खासै प्रभाव नपर्ने बताइन्छ ।
०६४ देखि नै आफ्नो क्षेत्रमा लगातार निर्वाचन जित्दै आएका शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट ०७९ को निर्वाचनमा ठूलो मतान्तरमा विजयी भएका थिए । अहिले विभाजन भएर शर्माले प्रलोपा बनाएर मैदानमा छन् । उनलाई विजयी बनेर संसद छिर्न निक्कै कडा चुनौती छ । गत निर्वाचनमा रुकुम पश्चिममा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६९ मत प्राप्त गर्दा शर्माले ३९ हजार ५४९ मत पाएर जितेका थिए ।








