Wednesday, August 26, 2026
26.1 C
Kathmandu
Home मुख्य समाचार कोरोनाको आशंका गरिएको सिन्धुपाल्चोकमा काठमाडौंबाट हिड्यो चिकित्सकको टोली

कोरोनाको आशंका गरिएको सिन्धुपाल्चोकमा काठमाडौंबाट हिड्यो चिकित्सकको टोली

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाञ्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको जनाएको छ । उक्त गाउँमा रहेका सर्वसाधारणमा रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य टोली खटाएको हो । सय भन्दा बढी स्थानीयलाई त्यहाँ कोरोना जस्तै संक्रमण देखिएको भन्दै त्रास फैलिएको छ । चिकित्सकहरुले भने फ्लू मात्र हुने अनुमान गरेका छन् ।

प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने घाँटीको स्रावको नमूना सङ्कलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एक जना ल्याब टेक्निसियनको भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) सहित टोली प्रभावित क्षेत्रमा खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाल गुम्बा गाउँमा मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मीको टोली पुगी स्वास्थ्यसेवा प्रदान गरिरहेका छन् । यसैगरी आजै बिहान मात्र स्वास्थ्य कार्यालय, सिन्धुपाञ्चोकको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट आवश्यक औषधिसहित गुम्बा गाउँ पठाइएका मेडिकल अधिकृत एक जना, अनमी एक जनाले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार बुधबार बिहानसम्म रुघाखोकीको लक्षण भएका १७० जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र सामान्य रुघाखोकीको लक्षण मात्र रहेको छ ।

यसअघि चौतारा अस्पतालबाट दुई जना मेडिकल अधिकृतसहित चार जनाको स्वास्थ्यकर्मीको टोली खटाइसकेको छ । उनले गाउँपालिकाले सूचना दिनासाथ सामुदायिक स्वास्थ्य एकाइबाट एकजना र गुम्बा स्वास्थ्यचौकीमा कार्यरत एकजना स्वास्थ्य सहायकलाई औषधिसहित प्रभावित समुदायमा पठाइएको जानकारी दिए ।

मन्त्रालयले रुघाखोकी र ज्वरो नियन्त्रण गर्नका लागि स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्य कार्यालय र जुगल गाउँपालिका स्वास्थ्य शाखाको बीचमा उच्च सतर्कताका साथ नियमित समन्वय र संवादसमेत भइरहेको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । गत माघ २३ गतेदेखि गुम्बा गाउँका सर्वसाधारणलाई रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।