भदौ १० । नेपालकै चितवन जिल्लामा पशुपंक्षीमा लाग्ने रोग बर्ड फ्लूका कारण दुई महिलाको मृत्यु भएको आशंका गर्दै परीक्षणको लागि नमुना काठमाडौं ल्याइएको छ ।

मृत्यु भएका दुई महिलामा बर्डफ्लूको औषधी प्रयोग गरेको पाइएको छ । त्यस्तो औषधी प्रयोग गर्नुले बर्डफ्लुको आशंका गरिएको भएपनि त्यसको पुष्टि भने भएको छैन ।

रुघाखोकी तथा ज्वरोका कारण थलिएका नवलपरासी र मकवानपुरका दुई महिलाको शनिबार भरतपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

मेडिकल कलेजले जिल्ला जनस्वास्थ्य कार्यालयलाई उनीहरुको मृत्यु एच फाइभ एन वान भाइरसका कारण भएको हुन सक्ने बताएपछि झन् आशंका गरिएको हो ।

यस्तै, चितवनमै बर्ड फ्लूको आशंकामा अर्का एक जनाको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ती महिलाहरुको मृत्युको कारण खुल्न नसके पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले परीक्षणको लागि आइतबार नमुना काठमाडौं पठाएको बताएको छ । नमुना परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने छ ।

जनस्वास्थ्य कार्यालयले मृत्युको कारण रिपोर्ट आएपछि मात्रै थाहा हुने जनाएको छ । मृतकहरुले टमीफ्लू औषधी चलाएकोमा टमीफ्लू चलाउँदा नै बर्डफ्लु भन्न नमिल्ने जनस्वास्थ्य कार्यालयको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।