
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा एमालेका तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन् । मेयर रेणु दाहालबाट लिनुपर्ने सपथ ग्रहण एमालेका तर्फबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र वडा अध्यक्षलाई शपथ गराएका थिए । सोही अवसरमा प्रमुख/मेयर दाहालले वडा सदस्यहरुलाई शपथ गराएकी थिइन् । एमालेका तर्फबाट भने सपथ ग्रहण नै बहिस्कार भएको हो ।
प्रमुख दाहाल माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएकी हुन भने उपप्रमुख शाह काँग्रेसका तर्फबाट निर्वाचित भएकी हुन् । महानगरमा एमालेले १४ वडा अध्यक्षसहित ७० सदस्य, नेपाली काँग्रेसले १२ वडा अध्यक्षसहित ६९ सदस्य र माओवादी केन्द्रले तीन वडा अध्यक्षसहित आठ सदस्य पद जितेको छ ।
एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यात्ने र षड्यन्त्र गर्नेहरुको रोहवरमा एमाले जनप्रतिनिधिले शपथ ग्रहण नगरेको बताए ।
Comments