• भ्रष्टचारजन्य क्रियाकलाप गरे अख्तियारमार्फत बर्खास्तसम्म हुने प्रावधान
  • खरिद बिक्रीसम्बन्धी छुट्टै नियम बनाउने अधिकार भएपनि सार्वजनिक खरिद ऐनसँग विवास्पद नियम बनाए सजाय 
  • मन्त्री, सांसद, निजामती कर्मचारी जस्तै सम्पत्ति विवरण बुझाउनुपर्ने, नबुझाए कारबाहीको भागीदार

काठमाडौं १७ साउन 
स्थानीय तहमा निर्वाचित तथा अब हुने निर्वाचनमार्फत विजयी हुने जनप्रतिनिधिले भ्रष्टचारजन्य तथा अनुचित कार्य गरे जुनसुकै बेला पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भएका छन् । कानुनमा सार्वजनिक पद धारण गरेको (संविधानले उन्मुक्ती नदिएको मध्ये) जोसुकै व्यक्ति तथा संघ संस्थाले भ्रष्टचारजन्य काम गरे अख्तियारले छानबिन तथा अनुसन्धान गर्न सक्ने प्रावधान अनुसार जनप्रतिनिधि समेत त्यो घेरामा पर्ने भएका हुन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भ्रष्टचारजन्य काम गरेमा अख्तियारले अनुसन्धानका लागि थुनामा राख्ने, मुद्धाको किनारा नलागेसम्म सेवाबाट निलम्बन हुने, भ्रष्टचार गरेबापत र त्यसबाट जोडजाड भएको सम्पत्ति कब्जा हुने, मुद्धा चलाउन सक्ने, विभागिय कारबाहीका लागि सिफारिस गर्न सक्ने कानुनी प्रावधान छ । यो कानुन स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा अब हुने निर्वाचनबाट विजयी हुनेहरुलाई समेत आकर्षित हुने भएको हो ।
अख्तियारका प्रवक्ता तथा सहसचिव जीवराज कोइरालाले सार्वजनिक पद धारण गरेका व्यक्ति तथा संघ संस्था अन्तर्गत स्थानीय जनप्रतिनिधि पनि पर्ने भएकाले उनीहरुले भ्रष्टचारजन्य काम गरे अख्तियारको छानबिन तथा अनुसन्धानको घेरामा पर्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ (चौथो संशोधन २०६६) को परिच्छेद–४ को दफा १६ मा अभियुक्तलाई थुनामा राख्न सकिने प्रावधान रहेको छ भने दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा (४) बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधीभर र दफा १८ बमोजिम मुद्धा चलेकोमा सो मुद्धाको किनारा नभएसम्मको अवधीभर त्यस्तो व्यक्ति पदबाट स्वतः निलम्बन भएको मानिनेछ उल्लेख छ ।
यस्तै, दफा २९ ख मा सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको अन्य सम्पत्ति समेत आफ्नो वा अरु कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ समेत उल्लेख छ ।
अख्तियारले भ्रष्टचार निवारण ऐनका आधारमा पनि सार्वजनिक पद धारण गरेका जोसुकै व्यक्ति पनि अख्तियारको छानबिन तथा अनुसन्धानको घेरामा पर्ने र ऐन अन्तर्गत मुद्धा चलाउन सक्ने प्रावधान छ । स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधि समेत सार्वजनिक पद धारण गरेकाले उनीहरुले कुनै अनुचित तथा भ्रष्टचारजन्य कार्य गरे सिँधै अख्तियारको फन्दामा पर्ने भएका हुन् ।
आयोगका सदस्य नविन कुमार घिमिरेले संविधानले उन्मुक्ति दिएका बाहेक सबै निकाय तथा व्यक्ति आयोगका कार्य क्षेत्रमा पर्ने बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले सार्वजनिक पद धारण गरेका व्यक्ति, कुनै पनि संघ संस्था, सरकारी तथा सरकारी अर्धनिकायका पदाधिकारी तथा कर्मचारीले भ्रष्टचार र अनुचित काम गरे अख्तियारको क्षेत्राधिकारभित्र पर्ने भन्दै जनप्रतिनिधि समेत त्यसभित्र पर्ने बताए । ‘जनप्रतिनिधिहरु आफैं सचेत भएर काम गर्नुपर्छ, नत्र उनीहरु अख्तियारको घेरामा नपर्ने कुरै रहन्न’ सचिव थपलियाले भने, ‘ पछि थाहा नभएर गरियो भनेर उन्मुक्ति मिल्दैन त्यसैले कानुनसँग नबाँझिने गरी काम गर्नुपर्छ, उहाँहरुलाई सजिलो होस् भनेर नै हामीले अहिले स्थानीय तह सञ्चालन सम्बन्धी आदेश जारी गरेका छौं ।’
पूर्व सामान्य प्रशासन मन्त्री तथा सांसद रेखा शर्मा चुनाव अगाडी नै यस्ता कानुनहरु बन्नुपर्नेमा नबनेकोप्रति चिन्ता व्यक्त गर्दै फास्ट ट्रयाकबाट कानुन बनाउनुपर्नेमा जोड दिन्छिन् । ‘जनप्रतिनिधिहरुले अधिकारले दिएको छ भन्दैमा धमाधम निर्णय गर्दा कानुनसँग बाझिन पनि सक्ने हुन्छ, उनले भनिन् ‘कतिपय कुरा हतार हतारमा गर्नुभन्दा कानुन बनिनसकेपछि विचार पुर्याएर गर्नुपर्ने पनि देखिन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३ मा सार्वजनिक पद धारण गरेका व्यक्ति जानी जानी वा लापरबाही साथ आफ्नो अधिकार भित्रको कुनै काम नगरे, कुनै निर्णय वा आदेश गर्दा कार्यविधि पालना नगरे, अधिकार सम्बन्धित कानुन निर्णय वा आदेश विपरित अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरे, बदनियत वा स्वेच्छाचारी रुपमा अधिकार प्रयोग गरे, आफ्नो पदको प्रकृति अनुसार पाल गर्नुपर्ने कुनै पदीय कर्तव्य पालन नगरे तथा आफूलाई पदीय हैसियतले प्राप्त उन्मुक्ति, सुविधा वा सहुलियतको दुरुपयोग गरे अनुचित काम हुने उल्लेखछ छ । जनप्रतिनिधिका कार्यसमेत यो धारासँग समेत आकर्षित हुने भएको छ ।
६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
जनप्रतिनिधिले हरेक वर्ष आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र वा पदवहाली भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले जनप्रतिनिधिले कानुन बमोजिम सम्पत्ति विवरण नबुझाए उनीहरु समेत कारबाहीको भागीदार हुने बताए । 
ऐनको परिच्छेद ६ अन्तर्गत दफा ३१ को उपदफा २ साठी दिनभित्र सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आयोगले पाँच हजार रुपैयाँ जरिवाना गर्नेछ र अर्को तीस दिनभित्र सम्पत्ति विवरण पेश गर्न लगाउने प्रावधान छ  । त्यस्तै सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरको व्यक्ति उपर आफ्नो वा आफ्नो परिवारको नाममा अवैध सम्पत्ति राखेको अनुमानका आधारमा छानबिन गर्न सक्ने प्रावधान समेत रहेको छ ।
स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले सबै स्थानीय तहका पदाधिकारीलाई स्थानीय तहमा नै तोकिए बमोजिम सम्पत्ति विवरण भराएर दर्ता गराई राख्न निर्देशन दिएको बताए । आवश्यकता अनुसार उनीहरुको विवरण माग गर्न सकिने तथा नबुझाउने माथि कानुन बमोजिम कारबाही हुने समेत उनले बताए ।
स्थानीय तहका प्रतिनिधि स्थानीय सरकार भएकाले नियम कानुन बनाउन भने छुट हुने भएको छ । तर, त्यसरी बनाइने नियम कानुन तथा उनीहरुको क्रियाकलाप ऐनसँग नबाझिने तथा सार्वजनिक खरिद ऐनसँग विवास्पद गर्न नपाइने समेत सचिव थपलियाले बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।