काठमाडौं ८ असोज । ललितपुरस्थित पुल्चोकका स्थानीय नेवार समुदाय लालीगुराँस बहुउद्देश्य सहकारीसँग आक्रोशित देखिएका छन् । लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाले नेवार समुदायको सँस्कृतिसँग जोडिएको दुई सय वर्ष पुरानो फल्चा पुननिर्माणमा बखेडा झिकेको र लालीगुराँसका सञ्चालक सुरेन्द्र भण्डारीले सर्वसाधरणको रकम सस्तो ब्याजमा चलाउँदै दुरुपयोग गरेको तथ्य बाहिर आएसँगै स्थानीय नेवार समुदाय आक्रोशित बनेका हुन् ।
ललितपुर महानगरपालिकाले २ सय वर्ष पुरानो फल्चा बनाउन पटक पटक खोज्दा पनि लालीगुराँस सहकारीले अदालतको आडमा पुननिर्माण गर्न अवरोध गर्दै आएको थियो । पछिल्लो पटक पुननिर्माण सुरु गरिएपनि पुनः रोकिएको छ ।
पटक–पटक फल्चा पुननिर्माणमा लालीगुराँसका तर्फबाट अवरोध सिर्जना भएपछि ललितपुरका नेवार समुदायले लालीगुराँसमा रहेको आफ्नो बचत झिक्ने अभियान चलाएका छन् । यस्तो अभियानका कारण बिहीबारदेखि लालीगुराँसमा भिड नै लागेको छ ।
स्थानीयले बहिस्कार अभियान नै चलाएको र महानगरपालिकाले लालीगुराँसको ठिक अगाडी फल्चा पुननिर्माण सुरु गरेसँगै लालीगुराँसले पुल्चोकको भवन छाडेर हिड्नुपर्ने अवस्था समेत सिर्जना भएको छ । स्थानीयले उक्त भवन मापदण्ड विपरित बनेको भन्दै भत्काउन माग समेत गरेका छन् ।
लालीगुराँससँग आक्रोशित देखिएका स्थानीय गोपाल नेपाल श्रेष्ठले पाप धुरीबाट कराउने भन्दै अब सुरेन्द्र भण्डारीको फुर्ति उड्ने दिन आएको जनाएका छन् । सहकारीबाट पैसा झिक्ने अभियानमा रहेका स्थानीयहरुले छिट्टै सबै जनाले सहकारीमा बचत गरेको पुँजी फिर्ता गर्न आग्रह समेत गरेको पाइएको छ । रामबाबु श्रेष्ठले सबैले पैसा निकाल्नुपर्ने बताएका छन् । रविन्द्र महर्जनले नेवार समुदायले मात्र नभएर सबै नेपालीले लालीगुराँसको विरोध गर्नुपर्ने बताएका छन् । केशव पुरीले कति डिपोजिटरलाई लालीगुराँसबारे थाहा नै नभएको भन्दै चिने जानेकाहरुलाई खबर गर्न आग्रह समेत गरेका छन् ।







