काठमाडौं १४ असोज । कोरोना बिमा बापतको रोकिएको भुक्तानी पाउने सम्भावना बढेर गएको छ । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल थालेका छन् ।
अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बुधवार मन्त्रालयमा बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका छन् ।
अर्थमन्त्री शर्माले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन समेत दिएका छन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
अर्थमन्त्री शर्मा आफैंले यस विषयमा चासो दिँदै सक्रियता बढेपछि बिमितले भुक्तानी पाउने सम्भावना बढेर गएको हो । अघिल्लो सरकारको पालादेखि नै कोरोना बिमा बापतको भुक्तानी रोकिएको थियो । बिमा कम्पनीहरुले सरकारले नै भुक्तानी नदिएका कारण आफूहरुले दिन नसकेको जनाउँदै आएका छन् ।






