Sunday, August 16, 2026
21.5 C
Kathmandu
Home समाज सिभिलका इच्छाराजपछि श्री लालीगुराँसका सुरेन्द्र भण्डारीको जेल जाने पालो

सिभिलका इच्छाराजपछि श्री लालीगुराँसका सुरेन्द्र भण्डारीको जेल जाने पालो

काठमाडौं २२ असोज । सिभिल सहकारी मार्फत बचतकर्ताको झण्डै एक अर्ब रुपैयाँ ठगी गरेको उजुरीका आधारमा एमालेका कोटाबाट सांसद बनिसकेका इच्छाराज तामाङ प्रहरी हिरासतमा पुगेसँगै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पनि जेल जाने लाइनमा देखिएका छन् ।

ललितपुरको पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँसका विरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ललितपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्र बैंकदेखि लिएर सिआइबीसम्म उजुरी परेको छ । तर, शक्ति र पहुँचको भरमा उक्त उजुरीमाथि कारबाही प्रक्रिया रोक्ने काम हुँदै आएको पाइएको छ ।

सहकारीले सामान्य अवस्थामा समेत ऋणीको बहुमुल्य घरजग्गा लिलामी गर्ने र लिलामपछि आफ्नै कम्पनि मार्फत मुल्यांकन गर्ने र अन्डर भ्यालुएशन गरेर आफै सकार्ने गरेको पाइएको हो ।

सम्पत्ति अन्डर भ्यालुएशन गरेर ठगी गरेको विषयलाई लिएर २०७४ सालमै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा उजुरी परेको थियो । भण्डारीले शक्ति केन्द्रको भरमा उक्त अनुसन्धान प्रभावित पार्दै आएपनि जुनसुकै बेला पनि उक्त उजुरीमाथि कारबाही अघि बढ्नसक्ने र भण्डारी जेल जान सक्ने देखिएको छ ।

सञ्चालक सुरेन्द्र भण्डारी, तस्बीर: संस्थाको बेवसाइट

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि लालीगुराँसका विरुद्ध २०७२ साल फागुन १३ गते पीडितहरु योगेन्द्र सिलवाल र केशव पुरीले उजुरी दिएका छन् । २०७२ चैत्र १६ गते महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी छ ।

श्री लालीगुराँस सहकारीकै सिस्टर कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि मार्फत अन्डर भ्यालुएशन गर्ने गरेको हो । ललितपुरका स्थानियबासी केशव पुरी समेतले श्री लालीगुराँस सहकारीले आफ्नै सहायक कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट मार्फत अन्डर भ्यालुएशन गरेर करोडौंको सम्पत्ति कौडीको भाउमा हत्याएको भन्दै राष्ट्र बैंक, अख्तियारदेखि सिआइबीसम्म उजुरी दिएका छन् ।

पुरी सहित उनका साझेदारहरुले २०६७ अषाढमा ललितपुर महानगरपालिका वडा नम्बर ७ नख्खुको जग्गा खरिद गरेको थियो । उनीहरुले कित्ता नम्बर ८५, ११७, ८७, ९३,९५,१०१, १०२ र ८८ नम्बरको ४ रोपनी ७ आना ३ पैसा जग्गा खरिद गरेका थिए । जतिबेला लालीगुँरास सहकारीबाट २ करोड २० लाख ऋण लिइएको थियो । तर केशव पुरीको भागमा ९० लाख मात्रै ऋण थियो । ऋण लिएको एक वर्षसम्म उनीहरुले सहकारीलाई ब्याज बुझाइरहेका थिए ।
उनको नामको सोही जग्गा सहकारीले २०७० माघमा अन्डर भ्यालुएशन गरेर सकारेको पुरीले जनाएका छन् ।

पुरीको स्वामित्व रहेको उक्त जग्गा सहकारीले ७६ लाख रुपैयाँमा सकारेको पाइएको छ । उक्त जग्गाको जतिबेलाको मुल्यांकनमा ३०÷३५ करोड रुपैयाँ भन्दा माथि पर्ने जाने देखिएको छ । त्यस्तै, पुरीकै स्वामित्व रहेको ललितपुरको गोदावरी स्थित साविकको किटिनी गाविस वडा नम्बर ९ को कित्ता नम्बर १७ को ७ रोपनी ९ आना जग्गाको पनि मुल्यांकन कम गरेर ठगी गरेको पाइएको छ । त्यहाँको जग्गाको मूल्यांकन सहकारीले सकार्ने बेला १० देखि १५ करोड थियो । तर, सहकारीले भने एक करोड ६ लाख रुपैयाँमा सकारेको पाइएको थियो ।

भण्डारीले राज्यका कानुन र नियमन गर्ने निकायलाई नै चुनौती दिंदै आफ्नै स्वामित्वमा रहेको विभिन्न कम्पनीको नाममा करोडौं ऋण निकालेर अपचलन गर्ने गरेका हुन् । लालीगुराँसकै ब्रान्ड नेमबाट सञ्चालित कम्पनी, फाउन्डेशन र हस्पिटल मार्फत उनले आफ्ना नातागोतासम्मलाई करोडौं ऋण निकाल्ने गरेको तथ्य फेला परेको छ। भण्डारीकै स्वामित्व रहेका दर्जनभन्दा बढी कम्पनीहरुमा अस्वभाविक ऋण प्रवाह भएको पाइएको छ । यस सम्बन्धी विस्तृत विवरण हेलोखबरमा श्रृंखलावद्ध प्रकाशित हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।