काठमाडौं १३ साउन

सत्तारूढ दल नेकपा माओवादी केन्द्रको हेडक्वार्टर अर्थात केन्द्रीय कार्यालय सदस्यहरुको आज बसेको बैठकमा कान्तिपुर दैनिकमा आज छापिएको समाचार हासो र सिरियसको पात्र बनेको छ । 

सचिवालय बैठकपछि दोस्रो पटक बसेको हेडक्वार्टर  बैठकमा केही समय त कान्तिपुरमा बसन्त बस्नेतले लेखेको माओवादी बैठकमा दाहालले भने– बरु पार्टी नै विघटन गरौं शिर्षकको समाचारमा नै बैठक केन्द्रित बनेको थियो ।२–७ साउनमा बसेको सचिवालय सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्डले गुट विघटन गरौं भनेर व्यंग्य गरेको विषयलाई पत्रकारले पार्टी नै विघटन गरौं भनेर बुझेछन् भनेर पत्रकारको खिल्ली उडाइएको थियो । हाँसी मजाक चलिरहेकै बेला अर्का एक सदस्यले कान्तिपुरले त्यतिकै कुनै प्रसंग बिना यो विषय नउठाएको भन्दै नियतिमाथि प्रश्न उठाएपछि फेरि बैठक सिरियस मोडतिर धकेलिएको एक हेडक्वाटर सदस्य बताउँछन् ।
बैठकमा कान्तिपुर जस्तो पत्रिकाले अनावश्यक बेला र अनावश्यक ठाउँमा किन समाचार दियो भनेर कान्तिपुरको नियतमाथि धेरै सदस्यहरुले प्रश्न उठाएको अर्का हेडक्वार्टर सदस्यले बताए ।
बैठकमा गलत समाचार सम्प्रेषण गरेको भन्दै खण्डन निकाल्नुपर्ने सहमति भएपनि अन्तिममा विज्ञप्ति निकालेर खण्डन नै चाँही ननिकालौं तर यसको नियत के हो त्यो बुझौं भनेर टुंग्याइएको थियो । ती हेडक्वार्टर सदस्यका अनुसार समाचार लेख्ने पत्रकारमाथि समेत नियतको प्रश्न उठाइएको छ । यसअघि पनि बाबुरामको प्रसंगमा उनै पत्रकारले अनावश्यक कुरा लेखेको विषय समेत बैठकमा उठेको थियो ।
समाचारमा नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा र विशाल खड्काकोे कोड गरिएको छ । तर, बैठकमा उपस्थित दुई नेताले आफूले भनेको कुरो समेत बग्याएर दिएको भन्दै उल्टै पत्रकारको खिल्ली उडाएका थिए । समाचारमा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकको सुरुमा नै अध्यक्षले पार्टी विघटनको कुरा उठाए पनि बैठकमा यो विषयले खासै ठाउँ नै नपाएको भनेका छन् । तर, समाचारको केही तल भने अध्यक्षले बैठकको अन्तिमा पार्टी विघटन गर्ने कुरा उठाएकाले अरुले यो विषयमा बोल्न पाएनन् भनेर आफैंले माथि लेखेको समाचारलाई तलतिर गएपछि खण्डन गरेको समेत पाइएको छ । ‘तीन नेताको कोडमा कहीँ पनि पार्टी विघटन गर्ने कुरा पाइदैन तर गुट उपगुटकै कुरा नेताहरुको कोड भेटिएपनि समाचार भने जबरजस्ती लेख्नकै लागि मात्र लेखिए जस्तो बनाइएको छ ।’ माओवादी एक नेताले भने ।
समाचार र माओवादी बैठक
१) कान्तिपुरले आज बनाएको मुख्य समाचारको लिडमा लेखिएको छ ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।
कान्तिपुरले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न प्रस्ताव गरेको कुरालाई खुलासाको रुपमा प्रस्तुत गरेको छ । एक नेताका अनुसार यो विषय २ साउन, बैठककाे पहिलो दिन नै दाहालले गुट उपगुट विघटन गरौं, गुट चलाउने भए पार्टी विभाजन गरेर गुट चलाए भई गयो नि भनेर आक्रोशित रुपमा भनेको विषय हो । यो विषय ३ र ४ साउनका अधिकांश दैनिकले समाचार बनाएका छन् । यस्तै, समाचारको दोस्रो हरफको कुरा समाचारभरी कहीँ कोहीबाट पनि पुष्टि छैन । गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेकोले पार्टी विघटन गर्ने कुरा गरेको विषय पुष्टि र तर्क बिनै दिइएको छ ।
२) माओवादी सचिवालय बैठक ७ गते सकिएर ८ गते पत्रकार सम्मेलन गरिए पनि कान्तिपुरले मुख्य समाचार बनाएको छ । बैठकमा यतिबेला कान्तिपुरले किन समाचार दियो भनेर सोधी खोजी चलेको थियो । 
३) समाचारको अर्को अंशमा लेखिएको छ, ‘नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए । ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो ।’
समाचारमा श्रेष्ठले बैठकको सुरुमा यो विषय राखेको कुरा लेखिए पनि केही तल भने अध्यक्षले बैठक टुंग्याउँदै यो विषय राखेको भनेर पत्रकार आफैंले आफ्नो समाचार विरोधभासपूर्ण बनाएका छन् । समाचारकाे केही तल यस्ताे छ:
‘दाहालले यो प्रस्ताव बैठक टुंग्याउने क्रममा राखेको हुनाले अरु नेताहरुले भने यसमाथि टिप्पणी गर्न पाएनन् । शुक्रबार बस्ने हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरुले यसबारे फरक मत राख्ने तयारी गरिरहेको स्रोतले बतायो ।’ 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।