दराजमा यसरी दिनदिनै ठगिदैं सर्वसाधरण

काठमाडौं १७ कात्तिक । कलंकीका सुजन क्षेत्रीले एक वर्ष अघि जाडोमा लगाउने पञ्जा दराजबाट मगाए । केही सस्तो लागेर अनलाइन अर्डर गरेका उनको सामान त आयो, तर उनको अर्डर भन्दा अर्कै ।

उनले सामान चेक गरिनसक्दै भनियो, ‘तपाईले अर्डर गरेको पञ्जा यो हो, तर यो अलिक महंगो पर्छ, यो लिनुभयो भने तपाईले भनेको मुल्यमा आउँछ ।’ सस्तो र राम्रो देखेर अर्डर गरेको सामान नल्याएर अर्कै दिएपछि सुजन अक्क न वक्क बने । नलिने भए चार्ज लाग्ने समेत बताएपछि उनले त्यहीँ डुब्लिकेट सामान लिन बाध्य ।

गत असोज महिनाको मात्र कुरा हो पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक तथा साहित्यकार रमेश सायनले दराजबाट स्मार्ट वाचको अर्डर गरे ।

डेलिभरी ब्वाईले उनलाई कामै नलाग्ने डल्लो जस्तो सामग्री भिराएर हिड्यो । कवि सायनले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो तथा स्टाटस पोष्ट गर्दै आफू ठगिएको गुनासो गरे । “मैले दराजबाट एउटा स्मार्ट वाच मगाको थिएँ, म बस्ने होटल –बुटवल० मै त्यो स्मार्ट वाचको पाकेट आइपुग्यो । डेलीभरी ब्वाईले मेरो निर्देशनबमोजिम नै म बस्ने होटलमा ल्याएर समान छोडिदिएको रहेछ । होटल साहुले उहाँ (डेलीभरी ब्वाई) लाई पैसा दिएर मेरो कुरिएर रिसिभ गर्दिनुभएछ”, उनले स्मार्ट वाच किन्दा आएको डल्लो जस्तो सामग्री देखाउदै भनेका थिए । हेलोखबर लगायत मिडियामा उनको गुनासो सार्वज्निक भएपछि सामान भने फिर्ता भयो ।

यी त केही उदाहरण मात्रै हुन्, दराज लगायत अनलाइन सपिङ प्लेटफर्महरुमा सामान अर्डर गरेर खरिद गर्दा दिनानुदिन सर्वसाधरण ठगिएको गुनासाहरु बढेर गएका छन् ।

बजार मूल्य भन्दा धेरै महँगो मूल्य राखेर दराजबाट सामान बिक्री हुने गरेको दर्जनौं घटनाहरु पनि हेलोखबरले प्राप्त गरेको छ ।
अनलाइनमा ओर्जिनल सामान राख्ने तर दिने बेलामा सस्तोमा पर्ने उस्तै देखिने सामान राखेर बिक्री गर्ने तथा महँगो मूल्य राख्ने र धेरै डिस्काउन्ट गरे जस्तो गरेर समेत सामान बिक्री गरेको पाइएको छ ।

दराज कम्पनी अहिले नोभेम्बर ११ मा बिग सेल आयोजना गर्ने तयारीमा रहेको समेत छ । यसअघिका बिग सेलमा पनि उपभोक्ता ठगिएको गुनासाहरु सार्वजनिक भएका थिए । यो पटकको बिग सेलमा पनि उपभोक्ता ठगिन सक्ने भन्दै सचेत हुन उपभोक्ताकर्मीहरुले आग्रह गरेका छन् । त्यसो त दराजले उपभोक्ताको ध्यान तान्न ११ जनालाई मोटरसाइकल दिने योजना समेत अघि सारेको छ ।

दराजको उम्कने काइदाः हामी त प्लेटफर्म मात्रै हो
दराजबाट उपभोक्ता ठगिने गरेपनि दराजले भने आफ्नो वेबसाइटमा आफूले सामान बिक्रीको लागि राखेको नभई अन्य विक्रेताले आफ्नो वेबसाइट प्रयोग गरी सामानबिक्री गरेको भनेर बहाना गर्ने गरेको छ । दराजले झुक्याएर सामान बेच्ने पसललाई हटाउने गरेको जनाएको छ । तर, दराजमार्फत अर्डर गरिएको सामान दराजकै गल्तीका कारण फरक पर्दा पनि डेलिभरी तथा सर्भिस चार्ज भिराएर सर्वसाधरणमाथि ठगि हुने क्रम भने रोकिएको छैन ।