Tuesday, September 15, 2026
19.1 C
Kathmandu
Home ठगी र अपराध चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

काठमाडाैं १७ कात्तिक । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी छन् ।

मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरताअन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उनले भने, “यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा चीन सरकारबाट प्राप्त सहयोग तथा सहजीकरण अत्यन्तै सहयोग हुने छ ।” मन्त्री खतिवडाले कोभिड–१९ को सुरुआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवादसमेत व्यक्त गरे ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताइन् । उनले महामारीको विरुद्धमा एक देशले अर्काे देशलाई एक आपसमा रेखदेख र सहयोगले दुई देशबीच थप मित्रता अझ प्रगाढ हुने बताइन् । उनले चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा खोप उपलब्ध गराउनेसमेत जानकारी दिएकी छिन् । उक्त तीन लाख मात्रा खोप शुक्रबार नेपाल आइपुग्ने छ । यस्तै नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भइरहेको उनको भनाइ रहेको छ ।

चीनबाट हालसम्म एक करोड ५९ लाख मात्र खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए । उनले एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।