काठमाडौं ८ मंसिर । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष डाक्टर भिम रावलले अध्यक्षतामा कडा दाबेदारी प्रस्तुत गरेका छन् । उनले अध्यक्षको दाबेदारीबाट पछि नहट्ने र निवर्तमान अध्यक्ष केपी ओलीले प्यानल बनाएर लडे आफू पनि प्यानल बनाएर प्रस्तुत हुने बताएका छन् ।
एमालेका ओलीका लागि अहिलेसम्म रावल मात्रै प्रतिस्पर्धामा उत्रिएका छन् । उनले ओलीलाई हराएरै छाड्ने समेत बताएका छन् ।

यता, एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्ने छ ।

नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मङ्सिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा मङ्सिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मङ्सिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर १२ गते मतदान प्रक्रिया हुने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।