काठमाडाैं १६ मंसिर । नेपाली कांग्रेसले १६ वटा जिल्लामा केन्द्रीय महाधिवेशन सकिएपछि मात्रै जिल्ला अधिवेशन गर्ने भएको छ।

प्रदेश नम्बर २ का ८ जिल्ला र अरू प्रदेशका विभिन्न ८ जिल्लामा अब केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। प्रदेश २ का रौतहट, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, धनुषा र महोत्तरी जिल्लामा जिल्ला अधिवेशन भएको छैन।

साथै कैलाली, अछाम, बाँके, नवलपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने निर्णय भएको बताए।

कांग्रेसले यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। महाधिवेशनका लागि जिल्ला अधिवेशन गरिराख्नु अनिवार्य भने छैन। किनभने महाधिवेशनका लागि प्रतिनिधि सभा क्षेत्रबाटै महाधिवेशन प्रतिनिधिहरू आउँछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।