काठमाडौं २ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेटेर खेलाडीलाई हतोत्साहित गर्न नहुने बताएका छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले प्रधानमन्त्रीलाई खेलाडीमाथि गरिएको कारबाहीको विषयमा ध्यानाकर्षण गराएको र अन्यायपूर्ण व्यवहार र कोही पनि खेलाडीमाथि हतोत्साहित हुने वातावरण बनाउन नहुनेमा जोड दिएको बताएका छन् ।

स्रोतका अनुसार प्रचण्डले क्याप्टेनसहितका खेलाडीलाई एकैचोटी कारबाही नै गर्नु ठिक नभएको समेत उल्लेख गरेका छन् । ‘यसो बुझ्दा ग्रेडिङमा चित्त नबुझाएपछि खेलाडीले असन्तुष्टि पोखेका रहेका छन्, त्यसैलाई लिएर बहालावाला क्याप्टेनसहितलाई कारबाही गर्नु अलिक ठिक नहोला ।’ प्रचण्डले प्रधानमन्त्रीलाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डले खेलाडीलाई भ्रष्टाचार जस्ता जघन्य अपराधमा परे जस्तै गरेर असन्तुष्टि राखेको विषयमा नै कारबाही गर्दा अन्तराष्ट्रिय स्तरमा नै सन्देश नराम्रो जाने समेत बताएको स्रोत बताउँछ । ‘खेलाडीले गल्ती नै गरेपनि सुध्रिन दिनुपर्छ, बिदाई नै गर्ने भए पनि सम्मानजनक ढंगले गरौं, प्रचण्डले भने, ‘असन्तुष्टि जनाएको विषयमा अपराधी जस्तै कारबाही नै नगर्दा राम्रो होला ।’ प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले यस विषयमा आफूले बुझेर उचित निर्णय लिने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।