काठमाडौं ९ माघ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा अलमल अस्वीकार्य हुने बताएका छन् । उनले संविधानका धाराको अपव्याख्या गरे सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न उद्यत रहेको आरोप समेत लगाएका छन् ।
गठबन्धनले चुनाव सार्ने योजना अन्तर्गत छलफल गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्य जारी गर्दै कुनै पनि हालतमा समयमै स्थानीय तहको चुनाव हुनुपर्ने उल्लेख गरेका छन् ।
ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको बताएका छन् । उनले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने सरकारले निरीहता प्रकट गरिरहेको बताएका हुन् ।
उनले विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको समेत बताएका छन् ।