काठमाडौं १० माघ । बोनसको आशा गरेर प्रतिकित्ता हजार भन्दा माथि मूल्य तिरेर सेयर खरिद गरेका एनआईसी एसिया बैंकका साधारणतर्फका सेयरधनी यो पटक खाली हात बस्नु पर्ने निश्चित भएको छ ।
लगानीकर्ताले राम्रो प्रतिफल पाउने आशामा प्रतिकित्ता हजारसम्म तिरेर सेयर खरिद गरेकोमा बैंक सञ्चालकका कारण यो पटक बोनस वितरण नै रद्द हुन पुगेको छ ।
एनआईसी एसिया बैंकको बोनस वितरण गर्न राष्ट्र बैंकले रोक्का गरेपछि अब यसको प्रभाव सेकेन्डरी बजारमा पर्ने देखिएको छ । यसबाट सर्वसाधरण लगानीकर्ता यसको सोझो मारमा पर्ने देखिएको छ ।
एनआईसी एसिया बैंकले यसअघि १० सूचकमा नम्बर वान भन्दै प्रचार गर्दै आएको थियो । तर, पछिल्लो पटक बैंककै कारण बोनस वितरण रद्द भएपछि नम्बर वान भनेर प्रचार गर्दै आएको यस बैंकको मात्र नभएर समग्र बैंकिङ क्षेत्रमाथि नै अविश्वासको वातावरण सिर्जना भएको छ ।
कसरी भयो यस्तो ?
एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको आम्दानीबाट १५ प्रतिशत बोनस सेयर तथा शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने गरि संचालक समितिबाट पास गराएको थियो । तर, बैंकले बेवास्ता गर्दा र राष्ट्र बैंकको निर्देशन पालना नगरी मनपरी ढगले चल्दा लाखौं सेयरधनीले यो पटक बोनसबाट वञ्चित हुनु पर्ने अवस्था सिर्जना भएको हो ।
गत पुसको पहिलो साता राष्ट्र बैंकले पर्याप्त पूँजी कोष नपुगेको जनाउँदै सच्याएर ल्याउनु भन्दै एनआईसी एसिया बैंकले स्विकृतिको लागि राष्ट्र बैंकमा गत मंसिरमा पठाएको फायल फिर्ता गरेको बताइएकाे छ ।
राष्ट्र बैंकको निर्देशन सो बैंकले नमाने पछि बोनस सेयर वितरणमा रोक लगाएको पाइएको छ । कतिपय सेयरधनीले एनआईसी एसियाले बोनस नबाड्नकै लागि कतै राष्ट्र बैंकको निर्देशन पालना नगरेको त हैन भनेर प्रश्न समेत गरेको पाइएको छ ।
केन्द्रीय बैंकको प्रावधानअनुसार आफ्ना सेयर धनीहरुलाई लाभांश तथा बोनस वितरण गर्नको लागि वाणिज्य बैंकहरुले ११ प्रतिशत पुँजीकोष तथा ८.५ प्रतिशत प्राथमिक पूँजी पुर्याउनु पर्ने प्रावधान छ । तर, एनआईसी एसिया बैंकको पूँजी कोष जम्मा ८ दशमलब १ प्रतिशत मात्रै पूगेको छ । यही नियमलाई आधार मानेर राष्ट्र बैंकले बोनस सेयर वितरणमा रोक लगाएको हो ।
बोनस रद्दः सामान्यीकरणको प्रयास
बोनसलाई आधार मानेर सर्वसाधरणले बैंकको साधारणतर्फको सेयरमा लाखौं लगानी गरेकोमा बोनस वितरण रद्द हुँदा पनि बैंकले यस घटनालाई सामान्य जस्तै मानेको पाइएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेललाई लेखेको पत्रमा आ.व २०७७/७८ को लागि प्रस्ताव गरेको लाभांश सम्बन्धी निर्णयलार्य रद्द गरिएको जनाएको छ । बैंकले सेयरधनी तथा सरोकारवालासामु माफी माग्दै यस घटनालाई टुंग्याउने प्रयास गरेको छ । बैंकले यस विषयमा
आफ्नो आधिकारिक बेवसाइट, तथा फेसबुक, ट्विटर पेजहरुमा कतै जानकारी दिएको पाइएको छैन ।
बैंकले पछिल्लो पटक सञ्चारमाध्यममा विज्ञापनको नीति परिवर्तन गर्दै ‘एडभर्टरियल एड’ अर्थात समाचार जस्तै सामग्रीलाई विज्ञापनकाे रुपमा दिने गरेको पाइएकाे छ । बोनस वितरण रद्द भएपछि पनि कतिपय अनलाइनहरुले पेड न्यूजकाे रुप जस्तै देखिने गरी आक्रामक बजार विस्तार गरेको कारण तथा राष्ट्र बैंकले नै क्यापिटल पुँजी पुर्याउन नदिएको जस्तो गरेर बैंकको बचाउमा समाचार सामग्री दिने गरेको समेत पाइएको छ ।