काठमाडौं १० माघ । विप्लव नेतृवको नेकपाका कार्यकर्ताले बझाङको बित्थडचिर गाउँपालिकाका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई भ्रष्टचारको आरोपमा कालोसोमो दलेको छ ।
विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले विज्ञप्ति नै जारी गरेर भ्रष्टचार तथा अनियमितताको विभिन्न सात वटा आरोप लगाउँदै कारबाही गरिएको जनाएको छ । मल्ल नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
यता, नेकपा एमालेको तर्फबाट निर्वाचित अर्का एक जना वडा अध्यक्षलाई पनि विप्लव समूहका कार्यकर्ताले यसअघि कालो मोसो दलेको थियो । जाजरकोट जिल्लाको छेडागाड गाउँपालिका वडा ६ का एमाले बाट निर्वाचित अध्यक्ष रामबहादुर केसीलाई भ्रष्टचारको आरोपमा कालो मोसो दलेको हो ।
विप्लव नेतृत्वको नेकपाले भ्रष्टचारको आरोपमा पछिल्लो पटक कालो मोसो लगाउने कार्य जारी राखेको छ । आफ्नो पार्टीका नेतालाई कालो मोसो दलेपछि नेकपा एमाले जाजरकोटले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । एमालेले नेकपासँग सम्बन्धित अखिल क्रान्तिकारीका केही व्यक्तिले कालो मोसो दलेको जनाएको छ ।






