काठमाडौं २१ माघ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिनासहित वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिनासहित वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ।

शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ। आइतबारबाट देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।