अमेरिका रणनीतिक रुपमा आयो, तयारी नगरे हामी जोगिदैँनौँ : राम कार्की

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्की ‘राम’ ले अमेरिका रणनीतिक तयारीसहित आएकाले नेपालले तयारी नगरे भूराजनीतिक संकटबाट जोगिन नसक्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समितिको बैठकमा बोल्दै नेपालले कूटनीतिक कौशल पनि फितलो देखाएको बताउँदै अब चनाखो नभए भूराजनीतिक चपेटामा परिने बताएका हुन्। उनले अमेरिकी सैन्य गठबन्धनसम्बन्धी एसपीपी सम्झौताबारे नेपालले पत्राचार गरे नगरेको भन्दा पनि यहाँका संस्था र नेतृत्व कति पारदर्शी छन् भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे।

‘हामीले पत्राचार गर्‍यौँ कि गरेनौं? यो कुरा एक ठाउँमा छ। तर हामीले प्रतिनिधित्व गर्ने संस्था पारदर्शी छन् कि छैनन्? यो महत्वपूर्ण हो’, उनले भने, ‘एउटा व्यक्तिले बोलेको कुराको अर्थ रहँदैन। संस्थागत रुपमा हामीले के गर्‍यौँ, कति पारदर्शी भयौँ? यो संवेदनशील कुरा हो।’

सांसद कार्कीले नेपाल दक्षिण एसियाको पनि जटिल भूराजनीतिक बिन्दुमा रहेको बताउँदै अब एउटा प्रक्रिया थाल्नै पर्ने उल्लेख गरेका छन्। ‘अहिलेको दक्षिण एसियालाई आधार मान्ने हो भने हामीले एउटा प्रक्रिया सुरु गर्नुपर्‍यो’, उनले भने, ‘भारत र अमेरिका एकातिर उभिएका छन् भने चीन अर्कोतिर हुँदा दुईवटा ध्रुव बनेको छ। त्यसमा पनि चीन अगाडि छ भन्ने आँकलन छ। यस्तो अवस्थामा अब हामीले कुनै पनि ध्रुवमा जानु छैन। हामीले विशेष तयारी गर्नु जरुरी छ।’

उनले नेपालमा चाँडो चाँडो सरकार फेरिइरहने भएकाले जो आए पनि फरक नपर्ने गरी एउटै परराष्ट्र नीति आवश्यक रहेको पनि बताएका छन्। ‘हाम्रोमा सरकार फेरिइरहने अवस्था छ। जो आए पनि संस्था बनाऊँ’, उनले भने, ‘त्यो संस्थाले हामीलाई फिड व्याक दिइरहोस्।’

उनले अहिलेको अवस्थामा विश्व महाशक्तिको दौडमा रहेको चीन नेपालसँग एकदमै नजिक रहेको बताए। तर अमेरिकाले भारतलाई पनि रणनीतिक रुपमा अघि बढाएकाले सोचेर कदम चाल्नुपर्ने उनले सुझाए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।