मेयरको मनपरीः नियम विपरित सल्लाहकार राखेर साढे दश लाख वितरण

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियम विपरित सल्लाहकार राखेर एकै वर्षमा करिव ११ लाख रुपैयाँ बाँडेको पाइएको छ ।

एमाले नेता समेत रहेका तत्कालिन मेयर दिपनारायण रिजालले कानुनी सल्लाहकार चन्द्र बहादुर खड्का र राजनैतिक सल्लाहकार कमल ढकाललाई नियुक्त गरी क्रमश मासिक तलब ४० हजार ३ सय ८० र ३५ हजार ९ सय ९० रुपैयाँ तोकेर नियमकै उल्लंघन गरी तलब र भत्ता बाँडेका गरेका हुन् । दुवै जनालाई थप २/२ हजार मासिक सञ्चार खर्च र महँगी भत्ता समेत दिएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा तोकिए भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गरिएको जनाएको छ । प्रदेश न. १ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन) समेतमा पनि प्रदेशमा स्थानीयत हका प्रमुख तथा उप प्रमुखले सल्लाहकार राख्न पाउने व्यवस्था गरेका छैन ।

तत्कालिन मेयर रिजालले भने कानुनलाई बेवास्ता गर्दै राजनैतिक सल्लाहकार र कानुनी सल्लाहकार राखेर तलबको नाममा राज्यको दोहन गरेको पाइएको हो । यसरी नियम विपरित तलब र भत्ता वितरण गर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्र राज्यको १० लाख ८८ हजार ८ सय १० रुपैयाँको दुरुपयोग हुन गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।