डा. प्रकाश बुढाथोकी
कान्ति अस्पतालमा पुग्ने बालबालिका तथा अन्य अस्पतालको बहिरंगमा पुग्ने अधिकांश बिरामीमा ज्वरो देखिँदै छ । कति त घरमै बसेर आराम गर्ने र निको हुँदै छ । त्यसो त ज्वरो आउनुका अनेकन कारण छन् । हाल कोरोना, मौसमी फ्लुलाई नै शंका गरेर घरेलु आयुर्वेदिक तथा एलोप्याथिक औषधी उपचार गरिँदै छ ।

त्यसो त सन् २००४ मा बाँकेमा पहिलोपटक पुष्टि भएको डेंगु चितवन, रूपन्देही, पर्सा, झापा, कैलाली हुँदै करिब ६ महिनादेखि राजधानी बाहिर नगएका राजधानीवासीमा समेत देखिएको छ । तीनपटक त महामारी फैलिइसकेको छ । पछिल्ला केही सातादेखि ज्वरोका बिरामी के घर, के समाज स्वास्थ्य संस्थामा पनि बढ्दै गएका छन् । यसमा कोरोनासँगै डेंगुका बिरामी धेरै छन् । वर्षात्मा बढी देखिने यो रोग अझै तीन महिना रहने भएकाले सचेतनाको जरुरत छ । २०७६ सालमा नेपालमा १० हजार बढीमा संक्रमण र ६ जनाको मृत्यृ भई प्रकोपकै रूपमा फैलिएको थियो । साउनको सुरुदेखि तेस्रो सातासम्म ४ सय डेंगुका बिरामी थपिएका छन् जबकि पौषदेखि असारसम्म ७ महिनामा ३ सय ४७ थियो । विगतका वर्षमा वार्षिक ५८ जिल्लामा ५ सयको हाराहारीमा देखिने गरेको थियो ।
डेंगु जीवाणु के हो ?
फलेवी जीवाणु समूहमा पर्ने डेंगु जीवाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्दछ । मांसपेशी र हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ब्रेक बोन वा लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिन्छ । डेंगु रोग तीन दिनमै कम हुँदै जाने भएकाले यसलाई तीन दिने ज्वरो पनि भनेको देखिन्छ । चार प्रकारको डेंगु जीवाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्याउन नसकिने ज्वरो, डेंगु ज्वरो (डीएफ), डेंगु हेमोरेजिक ज्वरो (डीएचएफ्) सँगै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक सक डेंगु सक सिन्ड्रोम (डीएसएस) प्रकारको हुन सक्छ । डीएफ र डीएचएफको ५ प्रतिशतभन्दा कममा असामान्य लक्षण तथा चिह्नहरू देखिन्छन् । कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथि हुन सक्छ ।

अनौठो लामखुट्टे
मानिसमा डेंगुको संक्रमण डेंगु जीवाणुबाट संक्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्दछ । कालो रंगको लामखुट्टेमा सेतो थोप्ला वा छिर्केमिर्के रंगको वा बाघ जस्तै टाटेपाटे यो लामखुट्टेले टोकेपछि मानिसलाई चिलाउँछ । यसलाई हुर्कन ५ मिलि जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । लामखुट्टे १० डिग्रीभन्दा कम र ४० डिग्रीभन्दा बढी तापक्रममा मर्ने भएकाले नेपालको तराईको तापक्रमको फरक तथा पहाडमा बढेको गर्मीले कुनै मौसममा लामखुट्टे निर्मूल हुने अवस्था देखिँदैन ।

दिउँसो मात्र अर्थात् सूर्याेदयको २ घण्टापछि र सूर्यास्तको २ घण्टा अगाडिसम्म मात्र दिनमा टोक्ने यस लामखुट्टे अप्राकृतिक भाडा, घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्यांकी, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतल जस्ता अप्ठ्यारा ठाउँमा पाइने गर्दछ । सबैभन्दा खतरनाक त टायर हो जहाँ हरेक पत्र पत्र वा तह तहमा पानी जम्छ । तसर्थ, यस्ता पानी जम्ने भाँडाहरू सातामा कम्तीमा दुईपटक पुरै खाली गर्नुपर्छ । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भीआईपी लामखुट्टे पनि भनिन्छ । लामखुट्टे बाँदरलाई वा रोगी मानिसलाई टोक्दा डेंगु भाइरसबाट संक्रमित हुन्छ । संक्रमित लामखुट्टेले पारेका फूलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर संक्रमित रहन्छन् । तर, लामखुट्टे बिना मानिसबाट मानिसमा डेंगु सर्दैन । लामखुट्टेको वृद्धि र विकास रोक्न सकिए स्वतः यस ले सार्नसक्ने रोगबाट जोगिन सकिन्छ ।
लक्षण
शरीरमा भाइरस पसेको ५ देखि ८ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षणहरू देखिन्छन् । ज्वरो, विमिरा र टाउको वा शरीर दुख्ने डेंगुका प्रमुख लक्षण हुन् । यसबाट बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । आर्थिक सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग अत्यधिक पीडित हुन्छन् । सामान्य प्रकारको संक्रमण १ सातामा निको भएर जान्छ ।

यसबाट एक्कासी चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी र जोर्नीहरू दुख्न थाल्छ । टाउको र आँखा दुख्ने, टाउको तथा आँखाका नानीको चालले सुरु गराउने तथा बढाउने गर्दछ । आँसु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तीतो स्वाद आउने, वाक्वाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिबिरा, फोका र डावर देखिन्छ र क्रमशः हराउँछ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तस्राव हुने गर्दछ ।

डेंगु संक्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखापर्दछन् जसलाई डीएचएफ भनिन्छ । रक्तस्राव भइ रक्तस्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ । तन्तुमा असर परी डीएसएस सक हुन सक्छ ।

व्यवस्थापन
डेंगु संक्रमणबाट हुने रोग भएकोले रामवाण वा जादुको छडी झैं तुरून्तै ठीक पार्ने औषधि हुँदैन । यसको उपचार लक्षणका आधारमा गरिन्छ । एस्प्रिन र बु्रफिन जस्ता औषधि सेवन गर्नुहुँदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ । क्लासिक डेंगु सामान्य प्रकारको हो र आफैं निको हुन्छ तथा मृत्यृको सम्भावना कम हुन्छ । यदि, डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ ।

रोकथाम
डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहाँ छैन । डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले, त्यसबाट जोगिनु र लामखुट्टेको निर्मुल गर्र्नु नै रोकथाम हो । लामखुट्टेको जन्म, वृद्धि, विकास र टोकाइमुक्त रहनु नै अनेकन रोगहरू त्यो जटिलताबाट मुक्ति पाउनु पनि हो । विदेशमा डेंगु नियन्त्रणका लागि सरकार र स्थानीय समुदाय अत्यन्तै संवेदनशील भएर काम गर्छन् । सिंगापुरमा संक्रमण नियन्त्रणका लागि कसैको घर वा गमलामा एउटा लामखुट्टे भेटिए १ हजार डलर तिराइन्छ । तर, हामीकहाँ दिनरात लामखुट्टेको झ्याउँझ्याउँ नभए के नभएको तथा नपुगेको महसुस हुनेगर्छ । यस्तो अवस्थामा डेंगीले मात्र नभई लामखुट्टेजन्य अनगिन्ती रोगले प्रताडित नगर्ने कुरै भएन ?

अन्त्यमा, संक्रमण टाइप–१ बाट २ मा जाने, मृत्यु कम हुने क्लासिकबाट बढी मृत्यु हुने हेमोरेजिक र सक डेंगुमा जानसक्ने, जनचेतनामा कमी, रक्तसञ्चारको अभाव आदिले समयमै सजग नभए ठूलो महामारी भई धेरै धनजनको क्षति हुने निश्चित छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।