एनआईसी एसिया बैंकः सेयर बजारका लगानीकर्तालाई पटक-पटक धोका

‘बैंक पनि साथी पनि
राम्रो पनि हाम्रो पनि’ भन्ने आकर्षक नारा दिएको नेपालकै एक नम्बरको कमर्सियल बैंक भनेर स्वघोषित एनआईसी एसिया बैंकले पब्लिक सेयरधनीलाई पटक/पटक धोका दिने गरेको पाइएको छ ।

एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्नकै लागि राष्ट्र बैंकको नियम उल्लंघन गर्ने गरेको पाइएको हो । बैंकको बदमासीका कारण सर्वसाधरण भने दुई वर्षदेखि लाभांश बिहिन हुँदै आएका छन् । गत आर्थिक वर्षमा एनआईसी एसियाले सेयरधनीलाई बोनश तथा नगद लाभांश वितरण गर्नुपर्ने थियो । धेरै लगानीकर्ताले राम्रो लाभांश आउने आशामा लगानी गरेर बसेका थिए । । तर, एनआईसी एसिया बैंकले लाभांश वितरण नै गरेन ।

अर्थ क्षेत्रका जानकारहरु राष्ट्र बैंकको मापदण्ड पूरा गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै एनआईसी एसियाले सेयरधनीलाई लाभांश नदिनकै लागि यस्तो गरेको बताउने गरेका छन् ।

यति हुँदाहुँदै पनि सर्वसाधरणले गत वर्ष लाभांश नपाएपछि लगानीकर्ताले उक्त बैंकको सेयर नबेची होल्ड गरे । दुई वर्षको लाभांश पाइने आशमा रहेका लगानीकर्तामाथि बैंकले यो पटक पनि धोका दिएको छ । एनआइसी एसिया बैंकले यस पटक पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

गत ५ गते बसेको बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो।

उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेन भने यस पटक पनि लाभांश नदिएर धोका दिएको छ ।

राष्ट्र बैंकले यसअघि सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको भन्दै एनआईसी एसिया बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नम्बर १ मा न्युनतम पुँजीकोष सम्बन्धी व्यवस्था गरेको छ । पुँजीकोष भनेको प्राथमिक पुँजी र पुरक पुँजीको योग भएको राष्ट्र बैंकले जनाएको छ ।

प्राथमिक पुँजीकोष भनेको सेयर धनीको लगानी पनि हो । जसमा चुक्ता पुँजी, जगेडा कोष र सञ्चित मुनाफा समावेश भएको हुन्छ । अर्को पुरक पुँजीमा भने ऋणपत्रलगायत समावेश गरिएको हुन्छ । उक्त पुँजीको आधारमा बैंकले कतिसम्म व्यवसाय गर्न सक्छ भन्ने निर्धारण हुने गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार न्युनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

अर्थ जानकारहरु बैंकले पुँजी अनुपात मिलाउन सक्ने भएपनि उसले राष्ट्र बैंक र आफ्ना लगानीकर्तालाई बेवास्ता गर्ने गरेको बताउँछन् । ‘यो अनुपात मिलाउन बैंकलाई गाह्रो हो जस्तो लाग्दैन, अर्को कुरो पुँजी अनुपात नमिलाउँदा केन्द्रीय बैंकले एक्सन लिन्छ भन्ने पनि एनआईसी एसियालाई थाहा छ, तर जानी जानी यो काम गरिरहेको छ ।’ एक विज्ञ भन्छन् ।

लगानीकर्ता समेत एनआईसी एसिया बैंक नेतृत्वको बदमासीका कारण हैरानीसँगै मारमा परेका छन् । उनीहरु राम्रो लाभांशको आशामा ब्याजमा ऋण लिएर लगानी गर्दा पनि बैंकले धोका दिएको बताउने गरेका छन् ।

उनीहरुले राष्ट्र बैंकलाई सर्वसाधरणले पाउने लाभांश वितरणमा रोक लगाउनुको सट्टा बैंकलाई अन्य कारबाही गर्न र लाभांश वितरणमा सहजीकरण गरिदिन पनि माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।