काठमाडौँ १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक भ्रष्टाचारले थिलथिलो भएको बताएका छन् । उनले विश्वविद्यालयहरूमा सुशासन र सदाचारको नमुनाका रूपमा देखिनुपर्ने बताएका छन् । विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भ्रष्टाचारले थिलथिलो भएको भन्दै त्यसलाई निर्मूल गरी सुशासन कायम गर्न विश्वविद्यालयहरूले भूमिका खेल्नुपर्ने बताए । मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने पनि उनको भनाइ थियो ।
‘मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाहरूले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमुनाको रुपमा विश्वविद्यालयहरू देखिनुपर्दछ’ उनले भने ।त्यस्तै, प्रधानमन्त्री दाहालले संघीय संसद्बाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार नै बजेट निर्माण भइरहेको बताए । जटिल परिस्थितिबीच नीति कार्यक्रम पारित गरेको उनको भनाइ थियो । ‘निकै ठूलो जटिलताकाबीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । नीति कार्यक्रम अनुसारकै बजेट होस् भन्नेमा सरकार लागेको छ । अहिले मुख्यतः ७ सय ५३ वटै पालिकामा कृषि उत्पानमा वृद्धि गर्ने, युवाहरूलाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने तयारीमा छौं।’ उनले भने ।







