दिपक मलहोत्रा- सुन तस्करी कनेक्शन (विशेष रिपोर्ट)

टिबी क्षेत्री/हेलाेखबर

मिति २०८०।४।२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएकाे अवस्थामा एक क्वीन्टल बढी सुन बरामद हुन्छ । सुन नै भएकाे पुष्टिपछि राजस्व अनुसन्धान विभागले उक्त विषय ३ गते बुधबार सार्वजनिक गर्याे । त्यसकाे भाेलिपल्ट नयाँ पत्रिका दैनिकले सुन तस्करीमा व्यवसायी दिपक मलहोत्राकाे आशंकासहितकाे समाचार पहिलाे पृष्ठमा छाप्छ । ५ गते मलहोत्राले पत्रकार सम्मेलन गरेर आफ्नाे संलग्नता नभएकाे अस्वीकार गर्छन् ।

नेपालमा सुन तस्करीकाे याे एउटा पछिल्लाे उदाहरण हाे । सुन तस्करीमा हुने यस्ता घटना नेपालमा जति जति घट्छन्, प्राय मलहोत्राकाे नाम जाेडिन्छ । नेपाली उखान ‘हावा नचली पात हलि्लदैन’ भने झैँ  कतै उनकाे संलग्नता नै हाे वा बदनाम गर्न याे सबै हुने गरेकाे छ ? पटक पटक नाम जाेडिँदा उनीमाथि अनुसन्धान किन हुँदैन ? वा शक्तिकाे दुरूप्रयाेग गरेर अनुसन्धानलाइ निष्क्रिय पारेका छन् उनले ? याे रिपाेर्ट यसै विषयमा आधारित छ ।

काे हुन् दिपक मलहोत्रा ?

दिपक मलहोत्रा, तस्बीरः फेसबुक

दिपक मलहोत्रा आइएमएस ग्रुपका अध्यक्ष हुन् । डिकेश मलहोत्रा (छाेराे) सिइओ  छन् । उक्त ग्रुप अन्तर्गत ठेक्कापट्टादेखि माेबाइल लगायत इलेक्ट्राेनिक सामानकाे आयात हुने गरेकाे छ । सामसुङ माेबाइल लगायतकाे आयात यसै कम्पनीले गर्ने गरेकाे छ ।

 के हाे आइएमएस ग्रुप ?

दिपक मलहोत्राले इन्टरनेशनल मार्केटिङ सर्भिसेज नामक कम्पनीको स्थापना गरेका थिए जसलाई अहिले इन्टिग्रेटेड मोबिलिटी सोलुसन भनिन्छ। नयाँ कम्पनीहरू लिएर आईएमएस साम्राज्य खडाको बाटोमा देखिन्छ । आइएमएसले सबै कम्पनीलाई एउटै तहमा ल्याउने योजना बनाएको थियो, जसलाई अहिले आइएमएस ग्रुप भनिन्छ । यस्तो कम्पनी खोल्नुको मुख्य उद्देश्य राष्ट्रको प्राविधिक तथा आर्थिक पक्षलाई समृद्ध बनाउनु रहेकाे कम्पनीले उल्लेख गरेकाे छ। 

आईएमएस समूह विगत २८ वर्षमा बढ्दै गएको र विविधीकरण भएको कम्पनीले जनाएकाे छ । आईएमएस समूहको ब्यानरमा रहेका कम्पनीहरूको संख्याबाट यो वृद्धि स्पष्ट रूपमा देख्न सकिन्छ। हाल, आईएमएससँग २० भन्दा बढी कम्पनीहरू छन्। 

ग्रुपका अन्य कम्पनीहरूबारे बेवसाइटमा भनिएकाे छ-The ever-growing technology and competition has compelled IMS to broaden its scope and boundaries in the market. Its reach extends to the massed in the variety of services it provides through IMS, IMS SMart, IMS Connect, IMS Care, Cellcom, DJI Drones, IMS Motors, IMS Airport Services, Silver Valley Developers, Grande International Hospital, Synergy Corporation, The Leaf Resort, Hotel Shahenshah, Le Temor Spa & Resort, Times Energy, Shree Mount Rasuwa Upper Mailung Hydro Power, Upper Bheri Hydroelectric Project, Parakito & Crane Baby, Dr. Brown’s, Himalaya Baby Care, BB Luv, Dreambaby, Energizer, IMS Little Smiles, SpaceTime Network, IMS Cement, IMS Consultancy, Civil Bank, Nepal Infrastructure Bank, Citizens Life Insurance, Reliance Insurance, IMS Agro & DM Foundation.’

त्रिभुवन विमानस्थलका व्यवस्थापकमा आइएमएसका अध्यक्ष दीपक मलहाेत्रा नै हुन् । उनले बनाएकाे विद्युतीय भर्याङ (ट्राभलेटर) प्रयोग गर्दा स्वदेशी तथा विदेशी नागरिक लडेर हैरानी बेहाेर्नु परेकाे थियाे ।

आइएमएस सँगसँगै, मल्होत्रा ​​सिल्भर भ्याली डेभलपर्स प्रालि, आवास विकास कम्पनी र दरबार मार्गमा रहेको ज्वेलरी शोरुम इबिसु ज्वेलरीज् जस्ता धेरै व्यवसायहरूकाे हिस्साका रूपमा छन् । उनले एसडब्लुसी ब्रान्डका घडीहरू पनि आयात गर्छन्। हङकङबाट व्यवसाय सुरू गरेकामा मोटर पार्ट्स, नुनदेखि सुन आदि आयातमा समेत उनकाे हात रहने गरेकाे छ ।

सुन तस्करीमा यसरी जाेडिन्छ उनकाे नाम 

नेपालमा ठूलाे मात्रामा सुन बरामद हुँदा उनकाे नाम जाेडिने गरेकाे छ । अहिले सय किलाे सुन प्रकरणमा पनि उनकाे नाम जाेडिएकाे छ । विमानस्थलबाट बरामद भएको सुन आफूले नल्याएको उनले जिकिर गरेका छन् ।

सेताेपाटी डटकम २०८० का अनुसार ‘मल्होत्रा लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको डीआरआई र नेपाल प्रहरी अधिकारीको दाबी छ । सरकारद्वारा गठित छानबिन समितिले मलहोत्राको नाम समेत लिएर छानबिन गर्न माग गरेको समितिका सदस्यले बताएकाे समाचारमा उल्लेख छ । तर उनको छानबिन भएन र त्यो प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन ।’

नयाँ पत्रिकामा प्रकाशित समाचार

नयाँ पत्रिका दैनिकले सय केजी सुन बरामद भएकै भाेलिपल्ट साउन ४ गतेकाे अंकमा प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् भनि समाचार प्रकाशित गरेकाे थियाे । मलहोत्राले समाचारकाे खण्डन गरेपछि साउन ५ गते नयाँ पत्रिका दैनिकले मलहोत्रा यसकारण निगरानीमा शिर्षकमा विमानस्थलभित्रैसम्म व्यवसायी मलहोत्राको कम्पनीको रजगज रहेकाे, उनको कम्पनी आइएमएस एयरपोर्ट सर्भिसले विमानस्थलको नयाँ आगमन कक्ष, पार्किङ नै लिजमा चलाउँदै आएको र यसले विमानस्थलको सुरक्षामा जोखिम पुगेको रिपोर्ट विगतदेखि नै सुरक्षा निकायले दिँदै आएकाे उल्लेख गर्याे । तर, मलहोत्राको राजनीतिक पहुँचका कारण त्यसमा सुनुवाइ नै नहुने गरेकाे दाबी गरिएकाे छ । यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइल क्षेत्रमा पनि उनीनिकट व्यवसायीले पहुँचका भरमा पसल चलाउँदै आएका छन् । संवेदनशील क्षेत्र विवादास्पद व्यवसायीलाई लिजमा दिएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ भन्दै उनकाे संलग्नताकाे आशंका देखाएकाे छ । समाचारमा मल्हाेत्राकाे विगतकाे सुन कनेक्सनबारे यस्ताे उल्लेख छः

व्यवसायी मलहोत्रा विगतदेखि नै अवैध सुन कारोबारमा जोडिँदै आएका छन् । ०५६ मा संसदीय विशेष समितिले नै उनीसहितका व्यापारी सुन तस्करीमा संलग्न रहेकाले थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । ०७४ मा गृह मन्त्रालयले गठन गरेको विशेष समितिले पनि अवैध सुन कारोबारमा मलहोत्राको संलग्नता रहेको प्रतिवेदन तयार गरेको थियो । पछिल्लोपटक चूडामणि उप्रेती ‘गोरे’को समूहसहितको संलग्नतामा भएको करिब ३८ सय किलो सुन तस्करीमा पनि मलहोत्राको नाम जोडिएको थियो । तर, उच्चतहमा राजनीतिक पहुँच तथा प्रहरी र निजामती कर्मचारीसितको मिलेमतोमा उनी जोगिँदै आएको स्रोत बताउँछ । 

तस्करीमा लगानी गरेको अन्य प्राविधिक कुरासमेत भेटिएपछि मलहोत्रालगायत व्यक्तिमाथि थप अनुसन्धान गरी कारबाही गर्न ०७४ मा गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष समितिले प्रतिवेदन दिएको थियो । तर, राजनीतिक पहुँचकै कारण उनको स्वार्थअनुसार प्रतिवेदन अहिलेसम्म थन्किएको सो समितिका एक अधिकारी बताउँछन् । ‘मलहोत्रालगायत करिब तीन सय व्यापारीमाथि छानबिन गरी कारबाही गर्न सिफारिस गरेका थियौँ,’ समितिका ती अधिकारीले भने, ‘तर, प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको सुनिन्छ ।’ 

चूडामणि उप्रेती ‘गोरे’को समूहसँग मिलेर विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका व्यापारी विमल पोद्दारले समितिसमक्ष विगतमा सुनको अवैध कारोबार र हुन्डीमा मलहोत्रासँग साझेदारीमा काम गरेको बयान नै दिएका थिए । आफूहरूले मिलेर इबिसु ज्वेलर्स चलाएको बताएका थिए । सो सुन पसल पनि त्यतिवेला अनुसन्धानमा तानिएको थियो । 

विगत पाँच वर्षमा विमानस्थलबाट प्रहरी र अन्य कर्मचारीसँगको सेटिङमा करिब तीन हजार आठ सय किलो सुन तस्करीमा पनि व्यवसायी दीपक मलहोत्रा मुछिएका थिए । त्यसमा पक्राउ परेका उनका पार्टनर विमल पोद्दारले नै आफूहरूले सुन तथा हुन्डीको कारोबार गरेको बयान दिएका थिए ।

प्रधानमन्त्रीकाे भ्रमण दलमा सहभागिता

२०७५ असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजेर ९ मिनेट जाँदा हिमालयन एअरलाइन्सको नीजि चार्टर विमानमार्फत मित्रराष्ट्र चीनकाे औपचारिक भ्रमणमा निस्किए । साेही भ्रमण दलमा थिए, दिपक मलहाेत्रा । उनीमाथि सुनकाे विषयमा अनुसन्धान जारी थियाे । तर, प्रधानमन्त्रीकाे भ्रमण दलमा गएर फर्फिएपछि प्रधानमन्त्रीकै निर्देशनमा उनीमाथि अनुसन्धान राेकिएकाे चर्चा अहिले पनि हुने गरेकाे छ ।

पाँच वर्षपछिकाे ओलीकाे बाेली

हाल प्रमुख प्रतिपक्ष दलका नेता ओलीले ९ साउनमा दिएकाे अभिव्यक्ति अर्थपूर्ण छ । उनकाे अभिव्यक्तिकाे आशय मलहाेत्राकाे विषयमा नयाँ पत्रिकाले समाचार प्रकाशित गरेकाेप्रति आक्राेशपूर्ण रहेकाे थियाे । उनले ‘हावाका पछाडि कुद्ने, नचाहिँदा कुरा लेख्ने । अनि कसको मानमर्दन, कसरी गर्न पाइन्छ भनेर भन्नेजस्तो एउटा नयाँ पत्रिका भन्ने छ क्यारे नेपालमा । त्यो पत्रिकाले सोझै मेरोसमेत फोटो छापेछ । मेरो फोटो किन छापेको ? न म सरकारमा, न म प्रहरी चलाउने, न म अध्यागमन चलाउने । मेरो फोटो किन छापेको ?’ उनले भनेका थिए । नयाँ पत्रिकाले यस अवधीमा उनकाे कुनै फाेटाे नछापेकाे प्रष्ट पारेकाे छ भने सय किलो सुन तस्करी प्रकरण : मलहोत्राको फोटो छापिँदा ओलीको आपत्ति शिर्षकमा समाचार नै छापेकाे छ ।

२४ वर्षअघि नै मलहोत्रालाई सुन तस्करीमा छानबिन गर्न सिफारिस 

विवादित व्यवसायी दीपक मलहोत्रालाई सुन तस्करीमै छानबिन गरेर कारबाही गर्न २४ वर्षअघि नै संसदीय समितिले सिफारिस गरेको पाइएको छ। राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समिति, २०५६ को प्रतिवेदनले मलहोत्राले विदेशी मुद्रा निकासी गरेर अवैध रूपमा सुन ल्याउने गरेको ठहर गर्दै छानबिन गर्न सिफारिस गरेको पाइएको हो ।

परी थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा ‘राजस्व अनुसन्धान विभागको राजस्व चुहावट र तस्करीमा संलग्न व्यक्तिहरू’ भनेर मलहोत्राको नाम राखिएको छ । विवरणमा अवैध निकासी–पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न भनिएको छ । मलहोत्रासँगै अनिल जाटिया, प्रकाश वेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, प्रकाश टिवडेवाला, धोजेन्द्र गौचन, विष्णु जोशी, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँरको नाम पनि विवरणमा छ । 

विमल पोद्दारसँगको हिमचिम 

मलहोत्राको सुन तस्करसँगको मुख्य आशंका गर्नुपर्ने अर्को पक्ष भने विमल पोद्दार हुन् । यसअघि ३३ किलो सुन प्रकरण अनुसन्धान गर्ने क्रममा पक्राउ परेका भारतीय नागरिक विमल पोद्दार हुन् । मलहोत्राका उनी व्यवसायीका पार्टर हुन् । ५ साउनमा मलहोत्राले गरेको पत्रकार सम्मेलनमा उनले विमल पोद्दार पार्टनर रहेको आफैं खुलाए । 

‘विमल पोद्दार मेरो पार्टनर थिए, कहिले थिए भन्दाखेरी, कालिकास्थानमा बनाएको सिल्भरसिटी अपार्टमेन्ट हामी मिलेर बनाएको हो । त्यो बनाउँदाखेरी हामी सँगै थियौँ । त्यसपछि उसको मेरो पार्टनरसीप त्यहीँ छुट्यो,’ मल्होत्राले भने । 

चूडामणि उप्रेती ‘गोरे’को समूहसँग मिलेर विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका व्यापारी पोद्दारले विगतमा सुनको अवैध कारोबार र हुन्डीमा मलहोत्रासँग मिलेर काम गरेको बताएका थिए । गृह मन्त्रालयले गठन गरेको विशेष समितिसँगको बयानमा उनले भनेका छन्, ‘दीपक मलहोत्राले मसँग व्यापारिक साझेदारी हुनुभन्दा पहिला सुनको आयात पनि गर्ने गर्दथे । 

चूडामणि उप्रेती ‘गोरे’को समूहसँग मिलेर विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका व्यापारी पोद्दारले गृह मन्त्रालयले गठन गरेको विशेष समितिसँगको बयानमा उनले भनेका छन्, ‘दीपक मलहोत्राले मसँग व्यापारिक साझेदारी हुनुभन्दा पहिला सुनको आयात पनि गर्ने गर्दथे । नयाँ पत्रिका लेख्छ बयानमा भनेका छन्, ‘०७४ वैशाखदेखि असारसम्म दीपक मलहोत्राकै आग्रहमा करिब ६०–६५ लाख हुन्डी गरी भारतको दिल्ली बस्ने दिलीप अग्रवाललाई पठाइदिएको थिएँ । उनी मेरा व्यापारिक साझेदार भएकाले नि:शुल्क गरिदिएको हुँ ।’ 

२ लाख कमिशनमा सुन तस्करी

मलहोत्राले कमिशन लिएर सुन ओसार पसारको आरोप लाग्ने गरेको छ । उनले विमानस्थलकाे २३ राेपनी जग्गा कुनै न कुनै रूपमा नियन्त्रणमा लिएर कमिशनका आधारमा सुन तस्करी हुने गरेकाे बताइन्छ । नागरिक दैनिक लेख्छः  ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सिसिटिभीमा पहुँच राखेको आइएमएस ग्रुपका सञ्चालक दीपक मल्होत्राले हङकङबाट तस्करी भएर आउने गरेकाे सुन प्रतिकिलो २ लाख रूपैयाँका दरले कमिसन लिएर भारतीय सीमासम्म पुर्याउन सहयोग गर्ने गरेको आशंका गरिएको छ।’

मलहाेत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थलमा पार्किङ र आगमन कक्ष सञ्चालन गर्ने जिम्मा पाएको छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले मल्होत्राको उक्त कम्पनीलाई ३० वर्षका लागि बुट मोडलमा ठेक्का दिएको हो। यसैलाई उपयोग गरेर उनले कमिशनमा सुनको तस्करी गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको हाे ।

गम्भीर आरोपमा पनि अदालत जाँदैनन् मलहोत्रा

मलहोत्रामाथि सुन तस्करी जस्तो विषयमा गम्भीर आरोप पटक पटक लाग्ने गरेको छ । उनले यस्तो आरोपलाई राजनीतिक स्टण्ड जस्तै गरेर पचाईदिने गरेका छन् । यस्तो गम्भीर विषयमा पत्रकार सम्मेलन गरी खण्डन मात्र गर्ने गर्दा सुन तस्करीको उनको संलग्नता छ भनेर अड्कलबाजी गर्नेलाई भने झनै सजिलो बनाईदिएको छ ।

के भन्छन् त मलहाेत्रा

उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको दाबी गरेका छन्। ‘मैले गर्ने सबै कारोवारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ । म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रूपमा अन्य व्यक्तिसंग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोवार, आय सबै कानून बमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।’ उनले भनेका छन् ।

उनले विज्ञप्तिमार्फत सुन आयात गर्न आफूसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं आफ्नो व्यक्तिगत सम्पत्तिबाट कुनै पनि माध्यमवाट भूक्तानी पठाउने कार्य भए नगरेको र उक्त वस्तु आयातमा आफू र आफ्नो परिवार, आफू सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा आफू र नातेदार एवं आफूसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

कसको हो त १०० किलो सुन ?

त्रिभुवन विमानस्थल भन्सार जाँचपास भईसकेको अवस्थामा राजस्व विभागले बरामद गरेको तस्करीको एक सय किलो सुन कसको भन्ने अझै खुल्न सकेको छैन । सरकारले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त सुन मलहोत्राको हो/हैन भनेर पनि चर्चा हुने गरेको छ । नागरिक दैनिकले दाबी गरे जस्तै मलहोत्राले कमिशनमा सुन तस्करीमा सहयोग गर्ने गरेकोमाथि भने गम्भीर आशंका उत्पन्न गरेको छ । २४ वर्ष अघिदेखि नै पटक-पटक उनलाई कारबाही गर्न सरकारी तहबाटै सिफारिस भएपनि पहुँचको भरमा उन्मुक्ती पाउने गरेको पाइएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।