काठमाडौं २३ साउन । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता रहेका छन् । अविरल वर्षाका कारण आएको पहिरोका कारण आज बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।
बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर वाग्मती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







