काठमाडौं २६ असार

मतदाता नामावलीमा नाम नभएकै कारण कतै तपाईले स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाउनु त भएन नि ? नामावलीमा नाम नभएकै कारण धेरैले यस पटकको निर्वाचनमा भोट खसाल्ने मौका घुमाउनु पर्यो ।
संवैधानिक व्यवस्था अनुसार ७ माघ भित्र प्रदेश र केन्द्रको निर्वाचन गरिसक्नुपर्नेछ । अब हुने प्रदेश र केन्द्रको निर्वाचनमा पनि तपाईले भोट खसाल्न नपाउनु होला नि । त्यसका लागि अब भने फोटोसहितको मतदाता नामावली भर्न नछुटाउनुहोला ।
निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्दैछ ।
आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो।
उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्।
 प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु हुने  आयोगले बताएको छ ।
यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने नाम लेखाउनुनपर्ने आयोगले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।