महिना दिन अगाडी गठन भएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार तत्कालका लागि विस्तार नहुने भएको छ ।
सरकारले संविधान संशोधन प्रक्रिया अगाडी बढाएर मात्र मन्त्रीपरिषद विस्तार गर्ने रणनीति लिएको हो ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने पुष्टि गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको भन्दै संशोधनपछि मात्र सरकार विस्तार हुने बताए ।
उपप्रधानमन्त्री महराले भने, ‘संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।’
संशोधन अगाडी सरकार विस्तारमा लाग्दा राप्रपाभित्रको विवादले असर गर्ने, कांग्रेसभित्र पनि मन्त्रालय भागबन्डामा कुरो नमिल्दो सांसदहरु अनुपस्थित हुन सक्ने तथा साना दलहरुसँग पनि मन्त्रालयका विषयमा सरकार विस्तार गर्न लाग्दा कुरा नमिले संशोधनमा असहज हुने देखिएपछि सरकारले मन्त्रीपरिषद विस्तारको कामलाई पछाडी धकेलेको हो ।








