कानुन निर्माता सांसदकै शैक्षिक प्रमाणपत्र नक्कली !

काठमाडौँ । प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको भन्दै प्रहरीले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारबाट नियन्त्रणमा लिएको हो । उस्तै कसुरमा अरू चार जना पनि समातिएका छन् ।

काठमाडौं मेडिकल कलेज (सिनामंगल) र नोबेल मेडिकल कलेज (विराटनगर) का सञ्चालकसमेत रहेका शर्मा मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभामा सदस्य हुन् । प्रहरीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि भारतको बिहारस्थित फारबेसगन्ज (अररिया) को बीडीबीकेएस कलेजबाट आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए । सीआईबी, मेडिकल काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डको संयुक्त टोलीले २०७२ सालमा गरेको छानबिनमा उक्त प्रमाणपत्र नक्कली पाइएको प्रहरीले जनाएको छ ।

शर्माको प्रमाणपत्रअनुसार उनले सन् १९९४ देखि १९९६ सम्म आईएस्सी अध्ययन गरेका थिए । प्रमाणपत्रमा ७ सय २२ अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तीर्ण भएको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले दुई वर्षअघि पनि शर्माको सर्टिफिकेट प्रमाणीकरण बुझ्न ‘बिहार स्कुल एग्जामिनेसन’ मा टोली पठाएको थियो । त्यति बेला शर्माको प्रमाणपत्र रेकर्डमा भेटिएको थिएन । शर्माले एमबीबीएस भने चीनमा पढेका हुन् ।

सीआईबीले २०७२ माघदेखि २०७३ भदौ २६ सम्म ‘अपरेसन क्वाक’ चलाएर नक्कली सर्टिफिकेटका आधारमा एमबीबीएस अध्ययन गरेका ५९ डाक्टरलाई नेपाल मेडिकल काउन्सिलको सहयोगमा पक्राउ गरेको थियो ।
त्यति बेला सीआईबी प्रमुखमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल थिए । उक्त अपरेसनका बेला १ सय ९ जनाको सर्टिफिकेट नक्कली पाइएकामा शर्मा पनि प्रहरीको खोजी सूचीमा थिए । तर, उनी त्यति बेला प्रहरीको अपरेसनबाट बच्न जापान भागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उनका अनुसार आफूलाई अनुकूल हुने गरी प्रहरी प्रमुख फेरिएपछि मात्रै शर्मा जापानबाट फर्किएका थिए ।

राजनीतिक दलका नेताले संरक्षण गरेकै कारण नक्कली सर्टिफिकेट काण्डमा शर्मा अहिलेसम्म जोगिएको प्रहरीका अर्का एक अधिकारीले बताए । ‘अहिले फेरि फाइल खोलेर नक्कली सर्टिफिकेटसम्बन्धी फक्सट्रोट चार्ली अपरेसन चलाएका बेला उनी पक्राउ परेका हुन्,’ उनले भने । शर्मा पक्राउ परेको विषयमा सीआईबीले बिहीबार नै संसद् सचिवालयलाई जानकारी गराएको छ । सचिवालयलाई पठाइएको पत्रमा शर्माले मेडिकल काउन्सिलमा पेस गरेको आईएस्सीको प्रमाणपत्र नक्कली पाइएको उल्लेख छ । बहालवाला सांसदलाई फौजदारी कसुरमा पक्राउ गरेपछि तत्काल सभामुखलाई जानकारी दिनुपर्ने प्रावधान संविधानको धारा १०३ मा छ ।

प्रहरीले आफूमाथि फेरि अनुसन्धान थालेको सुइँको पाएपछि शर्माले क्विन्टल सुन तस्करी प्रकरणलाई जोडेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गर्दै आएका थिए ।

साउन १० को प्रतिनिधिसभा बैठकमा उनले सुन प्रकरणका मुख्य अभियुक्त पक्राउ नगरेमा संसद्मै अनशन बस्ने चेतावनीसमेत दिएका थिए । केही दिनअघि उनी दुबईसमेत पुगेका थिए । प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भए पनि उनले संसद् भवन बाहिर अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्‍याएका थिए भने सुन प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागलाई समर्थन जनाएका थिए । शर्मा ०७४ निर्वाचनमा एमाले नेता भानुभक्त ढकालसँग पराजित भएका थिए । यस पटक उनै ढकाललाई पराजित गरेर उनी संसद् प्रवेश गरेका हुन् । शर्मा मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कलगायत विषयमा विवादमा पर्दै आएका थिए ।

सीआईबीले विशेष अपरेसनका क्रममा रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरीलाई पनि पक्राउ गरेको छ । ‘अपरेसन क्वाक’ का क्रममा ७ वर्षअघि पक्राउ परेका मध्ये अधिकांशले अदालतबाट सफाइ पाइसकेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । केहीलाई भने ३ महिना जेल र ३० हजार रुपैयाँसम्म जरिवाना भएको थियो । सरकारी जागिर प्रवेश गरेकालाई भने लिएको तलबभत्ता फिर्ता गर्नुपर्ने आदेश अदालतले दिएको थियो । ‘प्रहरीले नक्कली सर्टिफिकेटमा मुद्दा चलाउनुपर्नेमा ठगी मुद्दा चलाएपछि विगतमा धेरैले उन्मुक्ति पाएका थिए,’ काउन्सिलका एक सदस्यले भने । उनका अनुसार त्यति बेला काउन्सिलको परीक्षामा ५ पटकभन्दा बढी फेल हुने चिकित्सकमाथि छानबिन गर्दा धेरैजसोको प्रमाणपत्र नक्कली पाइएको थियो ।

शर्मा पक्राउ परेपछि फौजदारी अभियोगमा मुछिएका सांसदको संख्या चार पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सांसद टोपबहादुर रायमाझी, सुरक्षाकर्मीको हत्या अभियोगमा एमालेकै सांसद लक्ष्मी महतो कोइरी, भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ यसअघि नै निलम्बनमा परिसकेका छन् । कोइरी अझै फरार छन् । मुद्दा अदालतमा पेस भएपछि पुर्पक्षका लागि थुनामा पठाइए शर्मा पनि स्वतः निलम्बनमा पर्नेछन् । कान्तिपुरबाट साभार


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।