कमिसन खाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं ३२ साउन । विकास निर्माणको काम र तालिम कार्यक्रममा कमिशन लिने रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरुमा कमिसन लिएको आरोपसहित ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार अर्याल, वडा ३ का तत्कालीन अध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस लिएको रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी अख्तियारले लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय माग दाबी गरेको छ ।

आयोगका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो । सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरि एवम् कमिसनको रुपमा जम्मा गराइन्थ्यो । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा मर्चवारी-३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ मा र वडा ७ मा गरिएका विकास निर्माणका कामहरु, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाइकटाइ तालिम कार्यक्रमहरु भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।