काठमाडौं ३२ साउन । मानवअधिकारकर्मीहरुको अनुगमन टोलीले संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष निकालेका छ ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।
स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेका छन् ।

मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।

मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।