भाइरसको संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं । भाइरसको संक्रमणबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको हो ।

रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनको भाइरस संक्रमणबाट निधन भएपनि चिकित्सकले कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने पुष्टि गर्न बाँकी छ ।
चिकित्सकले भाइरस लाखौं किसिमको हुने जनाउँदै कुन भाइरस हो भनेर जाँच नसकिने जनाउँदै ब्याक्टेरियल इन्फेक्सनका सबै परीक्षण नेगेटिभ भएकाले त्यो भने नदेखिएको जनाएका छन् ।
भाइरल संक्रमण बढ्दै गएपछि मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो ।

चिकित्सकका अनुसार सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो । चिकित्सकका अनुसार बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिए पनि बेलुकासम्ममा फेरि जटिलता बढ्न सुरु गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर(७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।